गुन्जन उपाध्यायको ‘माया कस्तो लाएँ’ सार्वजनिक

अमेरिकामा बसोबास गर्दै आएकी गायिका गुन्जन उपाध्यायको ‘माया कस्तो लाएँ’ सार्वजनिक भएको छ l बाल्यकालदेखि नै साङ्गीततिक माहोलमा हुर्केकी गायिका गुन्जनले आफ्नै बाबा तुंगनाथ उपाध्यायबाट सङ्गीतको प्रशिक्षण लिंदै गीत गाउँदै आएकी हुन् l नेपालका प्रसिद्ध तबलावादक स्व. पं. होमनाथ उपाध्यायद्वारा स्थापित ‘प्रस्तर समूह’ मा समेत सङ्गीत सिकेकी उनी सानैदेखि गीत सङ्गीतमा रुची राख्दै आएकी गायिका हुन् l उनले बाल्यकालदेखि नै नेपाली साङ्गीततिक क्षेत्रमा भजन लगायत अन्य धेरै गीतहरु रेकर्ड गराइसकेकी छिन् l परदेशी भूमिमा बसेर पनि सदैव नेपाली साङ्गीततिक क्षेत्रलाई माया गर्दै आफ्नो गायन यात्रामा निरन्तर लागिरहेकी गायिका गुन्जनले अमेरिकामा हुने विभिन्न कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिँदै आएकी छिन् l

गीत रेकर्डिङदेखि म्यूजिक भिडियो छायांकन र सम्पादन समेत अमेरिकामा नै गरिएको यो गीतलाई गायिका गुन्जनका पिता तुंगनाथले लेखेका हुन् भने सङ्गीत पनि उनकै हो ।  नेपालमा रहँदा बिभिन्न विधालयमा सङ्गीत गुरु भएर काम गरिसकेका तुङ्ग अमेरिकामा पनि नेपाली गीत सङ्गीतमा सक्रिय रहँदै आएका छन् l उनले त्यहाँ अहिलेको पुस्तालाई नेपाली सङ्गीत र वाद्यवादन संयोजनको प्रशिक्षण समेत दिईरहेका छन् । यस गीतको एरेन्ज भद्रेश्वर वर्मनले गरेका छन् भने भिडियोमा रिता याम्फू र जिन जेङको अभिनय रहेको छ । भिडियो मन्दिल श्रेष्ठको छायांकन सम्पादन र निर्देशनमा तयार भएको हो ।