‘हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान –२०७५’ सम्पन्न भएको छ । बागबजारस्थित हार्दिक होटलमा सम्पन्न सो सम्मान समारोहमा ३ दशकभन्दा बढी समयदेखि नेपाली रङ्गमञ्च तथा सन्देशमूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा सकारात्मक सन्देश प्रवाह गरे वापत लय सङ्ग्रौलालाई तथा लगभग दुई दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत चलचित्र क्षेत्रको संरक्षण संवर्द्धन मा योगदान पु¥याए वापत रेखा थापालाई ‘हरितारा चलचित्र पुरस्कार –२०७५’द्वारा सम्मान गरिएको हो l दुबैलाई सम्मानपत्र सहित जनही नगद रु.२५ हजार प्रदान गरिएको थियो l अन्तर्राष्ट्रिय टेनिश खेलाडी मायांका राणा र माहिका राणा तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, प्रथम रङ्गीन नेपाली चलचित्रकी नायिका चैत्यदेवी र प्रथम हास्य अभिनेत्री बसुन्धरा भूसालले संयुक्त रुपमा सो सम्मान अर्पण गरेका थिए ।
त्यसैगरी परिवर्तन नेपालले गतसालदेखि स्थापना गरेको ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार – २०७५’ सम्मानपत्र तथा नगद राशी जनही रु.१० हजार सहित ३ दशकदेखि नेपाली रङ्गमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याए वापत अभिनेता उत्तम केसीलाई र नेपाली रङ्ग पत्रकारिता मार्फत ३ दशकभन्दा बढी समयदेखि चलचित्र क्षेत्रको संरक्षण संवर्द्धनमा योगदान पु¥याए वापत विजयरत्न तुलाधरलाई प्रदान गरिएको छ l पुरस्कार श्रीमती सावित्री कोइरालाको हातबाट अर्पण गरिएको थियो ।
यस्तै अभिनेता निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई ‘परिवर्तन सम्मान २०७५’ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक-निर्देशक मोहन निरौला, ग्राफिक डिजाइनर सुन्दर श्रेष्ठ तथा वरिष्ट चलचित्र पत्रकार एवं गीतकार शान्तिप्रिय रहेका थिए ।
हरितारा पुरस्कारका संरक्षक मनोज शम्शेर ज.ब.रा.का सुपुत्रीद्वय मायांका राणा तथा माहिका राणाको सभापतित्वमा सम्पन्न सो समारोहमा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले दुबै पुरस्कारको परिचय दिँदै स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा वरिष्ट अभिनेत्री बसुन्धरा भुसाल तथा पुरस्कृत सर्जक/कलाकार लय सङ्ग्रौला र रेखा थापाले आ-आफ्नो मन्तव्य राखेका थिए । निराजन भण्डारीले संचालन गरेको यस पुरस्कार अर्पण समारोहमा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।













 
				
				 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							