समाजको यथार्थ घटना गीतिकथामा

मुलुकमा गरिबीका कारण विभिन्न घटनाहरु घटिरहेका छन्  । त्यही गरिबीभित्र जरो गाडेर बसेको वैदेशिक रोजगारी पछिल्लो समय विकराल बन्दै गएको छ । साहुको ऋण तिर्न र छोराछोरीको लाज ढाक्न नसक्ने अनि दिनभरि काम गरेर बेलुका छाक टार्ने परिवार मुलुकभित्र अझै धेरै छन् । त्यही घटनाक्रमभित्रको एउटा परिवारको कथालाई ‘बेसहारा’ शीर्षकको गीतिकथाका रुपमा भिडियो मार्फत बजारमा ल्याइएको छ ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी ‘बेसहारा’ शीर्षक दिईएको सो गीतिकथाको भिडियो सार्वजनिक गरिएको छ l वरिष्ठ गायक, सङ्गीतकार तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यमा आयोजित समारोहबीच भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा गीतिकथाको भिडियो हेरेर सबैले समाजको यथार्थता भएको बताएका थिए । रायमाझीले एउटा गरिब परिवारले भोगेको कथालाई झलक सङ्गीतमले भिडियोमा उतार्न सफल भएको बताएका थिए । बाल गायक सक्सेस पाण्डेको स्वर र बाल कलाकार अभिनित चौलागाईंको अभिनयले आफूलाई छोएको उनले बताएका थिए ।

कार्यक्रममा गीतकार तथा सङ्गीतकार नेत्रलाल पाण्डेले भावविह्वल हुँदै आफ्नो वैदेशिक यात्राका दुःख सुनाएका थिए । ‘जीउँदै छँदा आमा बाबाको लागि केही गर्न सके मात्र त्यो सन्तानको कर्तव्य हुने छ, मरेपछि दिएको पिण्डदान पाउँछन् कि पाउँदैनन्’ पाण्डेले भने ।

गीतिकथामा झलक सङ्गीतमको एरेन्ज, निर्देशन तथा कथा परिकल्पना रहेको छ भने नन्दा बस्याल, अभिनित चौलागाईं, अर्जुन बिसी, नुमाकान्त पाण्डे, कृपा पाण्डे, राज कुटाली, जय शम्भु, लिला निश्चल र राम ब. बिकले अभिनय गरेका छन् । शम्भु चालिसे र मधुर बस्नेतको छायांकन, मिलन बिक र विष्णु शर्माको सम्पादन रहेको गीतिकथाको भिडियो बि स्टार फिल्मस् प्रालिले निर्माण गरेको हो । कार्यक्रमको सुरुआतमा बालगायक सक्सेस पाण्डेले सो गीतको केही अंश गाएर सुनाएका थिए ।