चलचित्रकी खलपात्र म्युजिक भिडियोमा जम्दै

कला क्षेत्रमा भविष्य खोज्दै लगभग २ वर्ष अघिदेखि सङ्घर्ष गरिरहेकी मनिषा सापकोटा यतिबेला म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन् l ‘लाइट एण्ड स्याडो’ मिडियाको व्यानरमा निर्माण भएको ठूलो पर्दाको चलचित्र ‘प्रेमबुक’ मा खलपात्रको भूमिकामा अभिनय गरी पर्दाको यात्रा सुरु गरेकी मनिषाले सो चलचित्र रिलिज नहुँदै सुवास प्रधानको निर्देशनमा दुईवटा र टेकेन्द्र कार्कीको निर्देशनमा एउटा गरी तीनवटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् l जुन भिडियोहरु युट्युबमा समेत हेर्न सकिन्छ l
गायनमा समेत रुची भएकी मनिषाले यही बीचमा ‘उट्पट्याङ’ नामक हास्य सिरियल र डीस होमको विज्ञापनमा समेत आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् l क्यानभाष इन्टरनेशनल, बसुन्धरामा स्नातक अध्ययन गरिरहेकी मनिषा स्कुल पढ़दैगर्दा प्याब्शनद्वारा आयोजित अन्तर विद्यालयस्तरीय ‘फेशन शो’ मा समेत प्रथम भएकी थिईन् l सङ्घर्षका दौरान छोटो समयमा ठूलो पर्दाको चलचित्र,  सिरियल चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेकी मनिषाले आगामी दिनमा कुन विधालाई प्राथमिकता दिने छिन् भन्ने कुरा निर्क्योल हुन भने बाँकी नै छ l तथापि यो विषयमा उनी भन्छिन्-‘ठूलो पर्दा होस् या सानो, म्युजिक भिडियो होस् या चलचित्र कलाकारले गर्ने अभिनय हो l कलाकार भएपछि हरेक विधालाई उत्तिकै महत्व दिनु पर्दछ l तरपनि मेरो मुख्य विधाको कुरा भने दर्शकहरुकै हातमा छ l’