म्युजिक भिडियोमा लेस्बियनको कथा

२१औँ शताब्दीमा दौडिरहँदा समाजमा धेरै परिवर्तन भइसकेको छ । पहिले नौलो लाग्ने हर कुरा आजभोलि  सामान्य हुँदै गएका छन् । त्यसको एक उदाहरण हो मानिसले आफ्नो लैङ्गिक अवस्थाको बारेमा खुलेर बोल्नु । पछिल्लो समय समलिङ्गी व्यक्तिहरु खुल्न थालेका छन् । पहिले आफ्नो पहिचान खुलाउन डराउनेहरु अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका छन् । नेपालमा पनि त्यो परिवर्तन देखिएको छ । परिवर्तित समाजमा आफ्नो लैङ्गिक अवस्थालाई नालुकाऊं भन्ने मुख्य हेतुले प्रविन श्रेष्ठको निर्देशनमा लेस्वियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मन’ एल्बममा समावेश दर्पण यात्रीको शब्द तथा जितेन तामाङ लामाको सङ्गीतमा अन्जु पन्तको स्वर रहेको ‘मैले भुल्न’ बोलको उक्त गीतको भिडियोमा नायिकाद्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेस्वियन जोडीको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा लेस्वियन बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ ।
भिडियोमा उत्तम हुमागाईको छयांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह-निर्देशन तथा निर्देशक प्रविन श्रेष्ठकै सम्पादन रहेको छ । भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतिमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो ।