चलचित्र प्रमोशनको लागि नौलो तिकडम: ‘तक्लु ब्युटी कन्टेष्ट’ को आयोजना हुने

आगामी माघ २५ गते प्रदर्शन मिति  तय गरिएको चलचित्र ‘प्रेमलिला’ को प्रमोशनका लागि ‘तक्लु ब्युटी कन्टेष्ट’ को आयोजना गरिनेभएको  छ । फिल्म प्रोमोशनलाई व्यापकता दिने योजना अनुसार  निर्माण यूनिटले सो कन्टेष्टको आयोजना गर्न लागेको हो । प्राप्त जानकारी अनुसार यो कन्टेष्टमा महिलाले मात्र भाग लिन सक्ने छन् । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्स सहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । जस मध्येबाट उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइने छ र पहिलो हुनेलाई रु. ५०,०००/- दोश्रो हुनेलाई रु. २५,०००/- र तेश्रो हुनेलाई रु. १०,०००/- नगद पुरस्कार प्रदान गरिने थाहा भएको छ ।
यस कन्टेष्टको विषयमा चलचित्रमा ‘तक्लु’ बनेकी चलचित्रकी निर्मात्री तथा नायिका दीपशिखा खड्का भन्छिन्- ‘सुन्दरता आँखाको भ्रम हो । मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ । महिलाका लागि कपाल पक्कै प्यारो छ । कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ । हामीले पनि बाहिरी सुन्दरतालाई नै महत्व दिएका छौँ । मैले पनि म ‘तक्लु’ बन्दाको फरक पन र मानिसले महिलाको सुन्दरता हेर्ने फरक नजरको महसुस गरेकी छु । त्यो अनुभव सबैसँग साट्नका लागि ‘तक्लु ब्युटी कन्टेष्ट’ को आयोजना गर्न लागिएको हो ।’

दीपशिखा खड्काकै कथा रहेको यस फिल्ममा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । फिल्ममा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो ‘डेब्यु’ नेपाली फिल्म हो । फिल्ममा  जनक पाण्डेको निर्देशन रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । चलचित्रमा महेश खड्का, नवीन कार्की र रविराज शाहको सङ्गीत, राजेशपायल राई , शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।