युट्युबमा लोकप्रिय बन्दै ‘औंला गन्दैछु म’

गीतकार विजया गुरुङको एल्बम ‘मोशन अफ लभ’ मा रहेको ‘औंला गन्दै छु म’ बोलको गीतको भिडियो केहीदिन अघि नवनारीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गीतमा आफ्नो प्रिय मान्छे आउँदै गरेको खबर र त्यो खुशीमा प्रफुल्लित भएकी एउटी नारीको मनोदशालाई उजागर पार्ने प्रयास गरिएको छ । क्यालेन्डरका पाना कोर्दै अनि औंला भाँचेर पुनर्मिलनका दिनहरु गन्दै कुन्नि के के कल्पनामा एक्लै मुस्कुराउँदै र लजाउँदै प्रियतमको यादमा हराएकी प्रियतमालाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भिडियो कथात्मक र रोमान्चक छ ।
विनोद पछाईको सङ्गीत, महाराज थापाको म्युजिक एरेन्ज र दिपा लामाको स्वर रहेको यो गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार भएको हो । जसमा वर्षा राउत र आकाश श्रेष्ठको अभिनय रहेको छ भने भिडियोको छायाङ्कन वुद्ध थापाले र सम्पादन विकाश धमलाले गरेका हुन् । यो समाचार लेखिरहँदा भिडियो युट्युबमा २ लाखको हाराहारीमा हेरिएको छ ।
एल्बम ‘मोशन अफ लभ’ मा रहेका पाँचवटा गीत मध्ये ‘तिम्रा हजार गल्ती’ बोलको गीतको भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ ।

भिडियो लिंक
https://YouTube/watch?v=ExXQPn1bxPo