सन्तोषको एकल सङ्गीतमा २७ औं एल्बम

बाल  उपन्यासकार अर्चितबाबु मर्सिफूलद्वारा लिखित उपन्यास ‘पञ्चमणि’ र गीत तथा गजलकार रमेश सुवेदी, दामु मर्सिफूल र कविता उपाध्यायद्वारा रचित एवम् सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध आधुनिक गीतगजलहरुको एल्बम ‘जुहार’ एकैसाथ विमोचन भएको छ । जमलस्थित राष्ट्रिय नाचघरको मिनी हलमा हालै आयोजित कार्यक्रममा यी दुबै कृतिको एकैसाथ बिमोचन गरिएको हो । ‘जुहार’ सन्तोष श्रेष्ठको एकल सङ्गीतको २७ औं एल्बम हो ।

उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्व तथा लोकसँस्कृतिविद् वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विमोचन कार्यक्रममा विमोचित उपन्यासको समीक्षा वरिष्ठ निबन्धकार युवराज नयाँघरेले र एल्बमको समीक्षा वरिष्ठ गीतगजलकार ज्ञानुवाकर पौडेल र वरिष्ठ सङ्गीतकार शक्ति बल्लभले गरेका थिए ।

सुगम सङ्गीत फाँटको यात्रामा चर्चित रोल्पा गजुल निवासी एकै परिवारका गीतगजलकारहरुका संयुक्त रचनाको एल्बम तथा फुटकर गीतगजलहरु एवम् पुस्तकाकार कृतिहरु यसअघि पनि बजारमा आइसकेका छन् ।

एल्बममा रमेश सुवेदीको ‘अप्ठेरोमा नडराऊ देशको माया गर्नेहरु’ र ‘दुनियाँले तेर्साएर हातै थाप्दा रहेछन्’ बोलका दुई गीत तथा गजल, दामु मर्सिफूलको ‘हजार जन्म जन्ममा समीप बन्न पाऊँ म’ बोलको गजल र कविता उपाध्यायको ‘ईश्वर साक्षी छन्’ बोलका गीत समाविष्ट छन् । जसमा मनोजराज, वानिका प्रधान, प्रकाश रेग्मी र श्रेयशी चेम्जोङ लिम्बूका स्वर रहेका छन् l

यसैगरी त्यही परिवारभित्रका १२ बर्षीय बाल उपन्यासकार अर्चितबाबु मर्सिफूलद्वारा लिखित ‘पञ्चमणि’ शीर्षकको उपन्यास भने लेखकको पहिलो साहित्यिक कृति हो । ‘पञ्चमणि’ सबैभन्दा कलिलो उमेरमा लेखिएको नेपालको पहिलो उपन्यास कृति हुनसक्ने कुरा कार्यक्रमका समीक्षक तथा उपस्थित अतिथि स्रष्टाहरुले बताएका छन् । कार्यक्रम रापती साहित्य परिषद्, दाङ् र रापती समाज काठमाडौं तथा उपन्यास समाज काठमाडौंले संयुक्त रुपमा आयोजना गरेका थिए ।

परिषद्का महासचिव तथा एल्बमका स्रष्टा रमेश सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा अर्का स्रष्टा दामु मर्सिफूलले धन्वाद ज्ञापन गरेका थिए भने सङ्गीतकार सन्तोष श्रेष्ठ, कविता उपाध्याय तथा बालस्रष्टा अर्चितबाबु मर्सिफूल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गायक मनोजराज, प्रकाश केसी तथा गायिका श्रेयसी चेम्जोङले गीत गाएर दर्शक-स्रोतालाई भरपुर मनोरञ्जन गराएका थिए । उक्त विमोचन कार्यक्रमको सहजीकरण रापती समाज काठमाडौंका अध्यक्ष शशि शर्मा मजगैयाले गरेका थिए ।