अब्बल दर्जाका प्राविधिक

कलिलो उमेरदेखि नै विद्युतीय उपकरणहरुप्रति जिज्ञाशु प्रकाश खरेल अन्ततःअब्बल दर्जाका प्राविधिकको रुपमा सङ्गीत क्षेत्रमा स्थापित भए l नेपालकै अग्रणी म्युजिक कम्पनी र आफ्नै रेकर्डिङ स्टुडियो भएको पहिलो म्युजिक कम्पनी ‘म्युजिक नेपाल’ मा बि.स. ०५८ सालमा सहायक रेकर्डिष्टको रुपमा प्रवेश गरेका उनी आज त्यहाँ ‘सिनियर रेकर्डिष्ट’ का रुपमा कार्यरत छन् l
वास्तविक नाम चन्द्रप्रकाश खरेल भएपनि उनी कर्म क्षेत्रमा प्रकाश खरेलको नामले परिचित छन् l झापाको शिव सताक्षी- ११ निवासी पिता रमेश खरेल र माता गीता खरेलको परिवारमा दोस्रो सन्तानका रुपमा जन्मिएका प्रकाशका १ दिदी र १ बहिनी छन् l बाल उमेरदेखि नै उनमा यस्तो आश्चर्यजनक प्रतिभा थियो कि, उनलाई विद्युतीय उपकरणहरुप्रति जिज्ञाशा लाग्ने मात्र हैन त्यसबारेमा थोरै कुरा देखेको भरमा उनी धेरै काम गर्न सक्थे l ९ कक्षा पढ़दैगर्दा घरमा आएको इलेक्ट्रिसियनले काम गरेको हेरेकै भरमा उनले हाउस वायरिंङ सिकेका थिए l ‘म सानैदेखि प्राविधिक थिएँ l गाउँमा देउसी हिंड्दा पनि प्लेयरको अपरेटर मलाई नै राख्थे’ उनी पुराना दिन सम्झंदै भन्छन् l
उनले म्युजिक नेपाल कसरी प्रवेश गरे ? के त्यो बेला उनले रेकर्डिङ सम्बन्धी तालिम लिएका थिए ? यो पनि एउटा रोचक प्रसङ्ग हो l ‘मामा खेम संग्रौला गायनमा सङ्घर्ष गरिरहनुभएको थियो l मेरो चाहिं के गर्ने भन्ने खासै योजना थिएन l एकदिन कुरै कुरामा मामाले ‘तिमी त प्राविधिक ज्ञान भएको मान्छे, यही फिल्डमा काम गर्दा हुन्न ?’ भनेर सोध्नुभयो l उहाँको आशय पनि ‘रेकर्डिष्ट बने हुन्न ?’ भन्ने नै थियो l मलाई पनि मामाको कुरा ठीक लाग्यो र सहमति जनाएँ l मामाले नै म्युजिक नेपालमा चिनजान गराईदिनुभयो र प्रवेश गरें l त्यो बेला रेकर्डिङ सम्बन्धी ज्ञान  नभए पनि मलाई इलेक्ट्री सम्बन्धी ज्ञान थियो र बिस्तारै गर्न सक्छु भन्ने आत्मविश्वास बोकेर त्यहाँ गएको थिएँ’ प्रकाशले १७ वर्ष अगाडिको घटना सम्झँदै भने l
म्युजिक नेपाल प्रवेश गरेपछि उनले आफ्ना सिनियर राजिव शाह र दिपेश प्रधानसँग रेकर्डिङ सम्बन्धी कुराहरु सिकेका हुन् l तथापि प्रवेश गरेकै वर्ष उनले गीत रेकर्ड भने गर्ने मौका पाएका थिए l उनको विलक्षण प्रतिभा देखेपछि केही कुरा मिलाईदिएर सिनियरहरु ‘रेकर्ड गर्दैगर्नु है’ भनेर बाहिर निस्किरहन्थे, उनी मजाले काम फत्ते गर्थे l ‘मैले पहिलोपटक ०५८ सालमा बलराम समालको बाँसुरीवादन रेकर्ड गरेको थिएँ’ उनी भन्छन् l म्युजिक नेपाल प्रवेश गरेको लगभग ३ वर्षदेखि नै रेकर्डिष्टको रुपमा स्थापित भएका प्रकाशले केही कुरा सिनियरहरुबाट सिके भने केही इन्टरनेटमा खोजी गरेर जानेका हुन् l एकैदिन ३ सय ६५ जना कलाकारको स्वरमा रेकर्ड भएको गीतको रेकर्डिङ, माष्टरिंङ र प्रि माष्टरिंङ गरे बापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ बाट प्रमाणपत्र समेत प्राप्त गरेका प्रकाश सोही विषयका लागि राष्ट्रपतिबाट समेत ताम्रपत्रबाट सम्मानित भएका छन् l जन्मजात गुण, जिज्ञाशु स्वभाव र मेहेनती भएकै कारण प्रकाश नेपाली सङ्गीत क्षेत्रमा अब्बल दर्जाका रेकर्डिष्टको रुपमा स्थापित भएका छन् भने उनमा स्टुडियोको हार्डवेयर/शफ्टवेयर सम्बन्धी राम्रो ज्ञान समेत छ l अहिलेसम्म लगभग ४ हजार गीत रेकर्डिङ/मिक्सिङ गरिसकेको प्रकाश बताउँछन् l पुरानादेखि नयाँ पुस्ता सम्मका धेरैजसो कलाकारहरुसँग काम गरिसकेका प्रकाशले रेकर्डिङ/मिक्सिङ गरेका ‘नाईं मलाई थाहा छैन, म बाँचेकै तिमीसँग माया लाउँन हो, संसारै तोड बरु दिल नतोड, यो दुनिया बेग्लै छ, मीठो सारै मीठो’ लगायतका धेरै गीत लोकप्रिय भएका छन् l