नयाँ स्वादमा साँइली र माइली पोइला गएछन्

‘साँइली र माइली पोइला गएछन् गाउँघर नै सुन्ने पारेर…’ कुनै बेलाको अत्यन्तै  लोकप्रिय यो गीत आजपनि उत्तिकै सान्दर्भिक छ । मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको यो गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए भने अहिले राज के गोस्वामीको स्वरमा रेकर्ड भई म्युजिक भिडियो समेत दर्शकमाझ आएको छ । गोस्वामीले गीतकार तथा संगीतकार भट्टराईसँग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुनः गाएका हुन् । गायक गोस्वामीको स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ । गीतमा किरण तुलाधरको सङ्गीत संयोजन रहेको छ ।

निर्देशक शान थापाले म्युजिक भिडियोलाई अत्यन्त रोचक बनाउने प्रयास गरेका छन् । लोकप्रिय अभिनेता सन्दिप क्षेत्रीलाई मुख्य पात्रको रुपमा प्रस्तुत गरिएको उक्त गीतको  भिडियोमा एलिशा राई र करिष्मा ढकालले साइँली र माइलीको भूमिका निर्वाह गरेका छन् । हास्यरस समेत मिश्रण गरिएको भिडियोमा आफ्ना साइँली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमानको कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ । अभिनेता क्षेत्रीले पोइला गएका दुई श्रीमतीको श्रीमानको भूमिकालाई रोमाञ्चक ढंगले निर्वाह गरेका छन् । भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ ।

भिडियो लिंक
https://youtu.be/IggrUj81KC4