‘निर्जला’को दशैंगीत सार्वजनिक

सामाजिक प्रेमकथामा आधारित फिल्म ‘निर्जला’ मा समावेश दशैंगीत सार्वजनिक गरिएको छ । राजु गिरीको निर्देशनमा प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको यो फिल्म १९ असोजमा प्रदर्शन हुँदै छ ।

केही समयअघि ‘भाले मोटर’ बोलको गीत सार्वजनिक गरेको ‘निर्जला’ निर्माण समूहले बिहीबार राजधानीमा प्रेसमिट गरी ‘यसपालीको दशैंमा’ बोलको गीत दर्शकमाझ ल्याएको हो । गीतमा दशैंको रमझम प्रस्तुत गरिएको छ ।

दशैंको अवसर पारेर प्रदर्शन गर्न लागिएको फिल्मको सो गीत बाबुल गिरी र सुजता बर्माले गाएका हुन् । बाबुलकै सङ्गीत रहेको यो गीत दिनेश सुवेदीले लेखेका हुन् । कमल राईले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका सबै प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ ।

निर्माता न्यौपानले ‘निर्जला’ निकै राम्रो फिल्म बनेको बताउँदै दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे । उनले आफूहरुले दर्शकलाई दशैंको कोसेली स्वरुप ‘निर्जला’ पस्कन लागेको बताए । निर्देशक गिरीले ‘निर्जला’ आफ्ना विगतका फिल्मभन्दा निकै भिन्न र समाजिक कथामा रहेको बताए । त्यसैगरी अभिनेता किशोर खतिवडा र अभिनेत्री शुभेच्छा थापाले नारीप्रधान फिल्म भएकाले सबैले हेर्नुपर्ने धारणा राखेका थिए ।

फिल्ममा किशोर र शुभेच्छाका साथमा श्याम राई, सुरवीर पण्डित, निक शर्मा, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । रवि कोईरालाले खिचेको यो फिल्ममा तारा थापाको सम्पादन रहेको छ ।