पूर्वेली भाकाको नयाँ भिडियोमा भीषण

भीषण मुकारुङले पछिल्लो समय आफ्नै शब्द, सङ्गीत र स्वरमा युट्युबबाट रिलिज गरेको गीत ‘खोर्सानी डल्ले’ को भिडियो दर्शक/श्रोताले निकै मन पराएका छन् l ‘खोर्सानी डल्ले, मै जस्तो दुखीलाई लै लै पत्याउँछ कल्ले’ बोल रहेको यो गीतको भिडियो लोकप्रिय हास्य कलाकार वील्सन विक्रम राईको निर्देशनमा तयार भएको हो भने भिडियोमा वील्सनका साथमा रेखा लिम्बू, अरुण कार्की, सुरवीर पण्डित, रामचन्द्र अधिकारी लगायतका कलाकारहरुले अभिनय तथा नृत्य गरेका छन् l गीतमा सङ्गीत संयोजन राजु कार्कीको रहेको छ भने भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा र सम्पादन भरत रेग्मीले गरेका हुन् l यो गीत पूर्वेली रिसिया र पालाम लोकभाकालाई फ्युजन गरी तयार पारिएको कुरा भीषणले जानकारी गराएका छन् l हास्य विधामा ठूलो ख्याति आर्जन गर्न सफल वील्शन विक्रम पछिल्लो समय भिडियो निर्देशकको रुपमा समेत धेरैको रोजाईमा पर्न थालेका छन् l
भोजपुर अन्नपूर्ण, ट्याम्केका कलाकार भीषण ०५४ सालदेखि निरन्तर रुपमा गायनमा सक्रीय रहँदै आएका छन् l ६ वटा एल्बम र फुटकर रुपमा प्रकाशित गरी कूल लगभग २ सय ५० भन्दा बढी गीतमा स्वर दिईसकेका भीषणले लोक, आधुनिक लगायतका सबैजसो विधामा स्वर दिएका भएपनि उनको मुख्य विधा भने आधुनिक सुगम सङ्गीत नै हो l उनको स्वरमा रहेका ‘अँधेरीमा जून फुल्दा, चन्द्रमुखी, एउटा सत्य, ए खुशी’ लगायतका गीत लोकप्रिय छन् l