बाल गीतहरुको सङ्ग्रह ‘रोख्तोकोम्’ सार्वजनिक

खालिङ राई भाषाका बाल गीतहरुको सङ्ग्रह ‘रोख्तोकोम्’ (इन्द्रेणी) काठमाडौंमा लोकार्पण गरिएको छ । पेनड्राइभ तथा सिडीमा तयार पारिएको उक्त सङ्ग्रहलाई वरिष्ठ सङ्गीतकार शान्तिराम राई, किरात खालिङ राई उत्थान सङ्घका अध्यक्ष अर्जुन खालिङ राई, माप्य दुधकोशी गाउँ पालिकाका प्रमुख वुद्धिकिरण खालिङ राई सहितका व्यक्तिहरुले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । किरात खालिङ राई उत्थानसङ्घ केन्द्रीय कार्यसमिति, काठमाडौंले आयोजना गरेको साङ्गीतिक समारोहमा विमोचित सो एल्बमका गीतका झलकहरु समेत प्रस्तुत गरिएको थियो ।

अमेरिकामा रहेका सङ्गीतकार पविधन खालिङको शब्द तथा सङ्गीतमा उक्त एल्बममा सातवटा गीत तथा चारवटा ट्रयाक समावेश छन् । अमेरिकामै सञ्चालनमा रहेको सुर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका एल्बमका गीतहरुमा सङ्गीतकार खालिङले नै सङ्गीत संयोजन गरेका छन् । एल्बमका गीतमा प्रियंका खालिङ राई, यसोदा खालिङ राई, प्रतिक खालिङ राई तथा पविधन खालिङ राईका स्वर सुन्न सकिन्छ ।

‘आफ्नो जातिको गौरव, राष्ट्रको स्वाभिमान र अस्तित्व बचाउने यो युगमा जन्मिएका सम्पूर्ण नानीहरुमा समर्पित’ भनिएको उक्त एल्बममा रोख्तोकोम्, छ्याम्पुलेम्, झुङ् कैल्य, कम्बी उङ् आदि बोलका गीतहरु समावेश छन् ।