बसुन्धरालाई लाईफटाईम, भुवनलाई सम्मान

आगामी आईतबार जापानको टोकियोमा सम्पन्न हुन गईरहेको ‘सूर्य इन्टरनेशनल अवार्ड–२०१८’ मा नेपाली फिल्म क्षेत्रमा निरन्तर लाग्दै आईरहेका ४ जना कलाकार तथा पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको छ । अवार्ड समारोहमा ३ दशकभन्दा पनि बढी समय फिल्म क्षेत्रमा निरन्तर क्रियाशील रहेकी वरिष्ठ चलचित्रकर्मी तथा नेपालकै  पहिलो हास्य अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ र तीन दशकदेखि लगातार फिल्म क्षेत्रमा क्रियाशील रहँदै आएका कलाकार भुवन केसीलाई ‘सूर्य कलाकारिता सम्मान–२०१८’ बाट सम्मान गर्न लागिएको कुरा आयोजक संस्था सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।

यस्तै देढ दशकदेखि निरन्तर चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार सामिप्यराज तिमल्सिनालाई  ‘सूर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८’ बाट पुरस्कृत गर्न लागिएको छ भने एक दशकभन्दा लामो समयदेखि फोटो पत्रकारित्तामा सक्रिय  श्रीधर पौडेल ‘सूर्य फोटो पत्रकारिता पुरस्कार–२०१८’ बाट पुरस्कृत हुँदै छन् । सम्मान र पुरस्कार जापानको टोकियोमा अवस्थित नाकानो जेरो हलमा आगामी आईतावार आयोजना हुने अवार्ड समारेहमा प्रदान गरिने थाहा भएको छ । समारोहमा फिल्मको ६ विधा र गायनका ६ विधा गरी १२ विधामा अवार्ड वितरण गरिने छ । पर्यटन प्रवर्धन, कला संस्कृतिको संरक्षण र जापानमा निरन्तर नेपाली फिल्म प्रदर्शनलाई प्रभावकारी बनाउन ‘सूर्य ईन्टरनेशनल अवार्ड’ को आयोजना गर्न लागिएको कुरा बासुदेव लामिछानेले बताएका छन् । अवार्ड समारोहमा साँस्कृतिक प्रस्तुतिका लागि नेपालबाट शुक्रवार ४ दर्जन बढी कलाकारहरु जापान लाग्दै छन् ।