‘साली कसको भेनाको’ देशैभर प्रदर्शनमा

मुभिङ पिक्चर्स प्रालिद्वारा निर्मित नेपाली कथानक चलचित्र  ‘साली कसको  भेनाको’ भदौ २९ गतेबाट देशैभर प्रदर्शनमा आएको छ । पुष्प आचार्यको लेखन तथा भद्र भुजेलको निर्देशन रहेको यस चलचित्रमा वील्शन विक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, रवि गिरी, विरेन श्रेष्ठ, प्रिया रिजाल, पुष्प आचार्य, देव सागर, बल बहादुर गुरुङ आदि कलाकारको प्रमुख भूमिका रहेको छ ।

हास्यप्रधान यो चलचित्र गाउँघरमा घट्न सक्ने समसामयिक घटनामा आधारित रहेको थाहा भएको छ । चलचित्रमा मनभित्र आ–आफ्नो ब्यथा लुकाएका साली र भेनाको जीवन भोगाइका विविध पक्षलाई सामाजिक परिवेशको सेरोफेरोमा चित्रण गरिएको कुरा समेत निर्माण पक्षले जानकारी गराएको छ । नेपालीपनले भरिपूर्ण भनिएको यस चलचित्रमा पुष्प आचार्य र  सुरज शाही ठकुरीको गीत, प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको सङ्गीत, दीर्घ गुरुङको छयाङ्कन,  वसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमीत लामाको नृत्य निर्देशन र बनिष शाहको सम्पादन रहेको छ भने विगतका ‘कान्छी’, ‘सन्तान’ र ‘कर्जा’ जस्ता हिट चलचित्रका निर्माता प्रसाद श्रेष्ठ यस चलचित्रका प्रस्तुतकर्ता हुन्  । चलचित्रमा रामप्रसाद श्रेष्ठ,सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ ‘बिशाल’,कमला भट्टराई र मुक्ति अधिकारी निर्माताको रुपमा रहेका छन् ।