किराँत राई सँस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफूल) को विशेष प्रदर्शन हुने भएको छ । यही भदौ ३० गते किराँत राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा विशेष प्रदर्शन हुने कुरा निर्माण पक्षले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘सायाबुङ’ मा किराँतीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्त रुपमा प्रस्तुत गरिएको बताईएको छ । चलचित्रको नाम किराँती भाषामा राखिएको भएपनि चलचित्र नेपाली भाषामा रहेको छ । पूर्वी नेपालको उच्च पहाडी भेग जहाँ गाई तथा चौंरीगोठ पालनको परम्परा रहेको छ, त्यसलाई पनि चलचित्रमा समेटिएको निर्देशक भगिराज राईले बताए । चलचित्रबारे थप प्रष्ट्याउँदै निर्देशक राईले भने- ‘सायाबुङ अफ्ठेरोमा फुलेको फूल हो । हिमाली भेगमा गोठ बसाउने चलन छ । जुन बस्तीभन्दा धेरै टाढा हुन्छ । त्यही गोठ पालन गर्ने सुदूर ठाउँमा रहेको युवा र बस्तीमा रहेकी युवतीबीच हुर्किएको एउटा प्रेम कथा यसमा समेटिएको छ ।’
भाषा-संस्कृति संरक्षणमा थोरै भएपनि योगदाग गरौँ भन्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको निर्माता साया राईले जानकारी दिए । यस चलचित्रको छायाँङ्कन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणिपुरका रमणीय स्थानहरुमा गरिएको थाहा भएको छ ।
सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको यस चलचित्रमा भगिराज राईको लेखन/निर्देशन, भक्त सुनुवार र उदय नेम्बाङको सङ्गीत रहेको छ भने देबजंग थापाले सम्पादन गरेका छन् । चलचित्रमा दिपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईको गीत समेटिएको छ ।
काठमाडौंको विशेष प्रदर्शनपछि झापा, बिर्तामोड, धरान लगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक भगीराज राईले बताए । त्यसैगरी भारतको दार्जीलिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमा पनि प्रदर्शन गर्ने मिति तय भइसकेको राईले जानकारी गराएका छन् ।