म्यानमारमा ‘मिष्टर मोडल अफ द वर्ल्ड’ बने नेपाली मोडल

म्यानमारमा सम्पन्न ‘मिष्टर मोडल अफ द वर्ल्ड २०१८’ को टाईटल नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् । अन्य ९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले सो टाइटल जितेका हुन् । प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएका थिए । दिक्पालले मिष्टर किंग अफ क्याटवाक, मिष्टर मोडल चान लोन बेष्ट हेयर र मिष्टर मोडल बेष्ट इन फर्मल वेयर नामका अन्य तीनवटा टाइटल पनि उनले जितेका छन् ।

दिक्पाल यसअघि थाइल्याण्डमा आयोजना भएको ‘मिष्टर ग्लोबल’ र फिलिपिन्समा सम्पन्न भएको ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’ मा सहभागी भइसकेका छन् भने उनले विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । दिक्पालले ‘मिष्टर ग्राण्ड इन्टरनेशनल २०१७’ मा ‘सोसल मिडिया स्टार’ र ‘पब्लिक च्वाइस अवार्ड’ समेत जितेका थिए ।

त्यस्तै थाइल्याण्डमा सम्पन्न भएको ‘मिष्टर ग्लोबल’ मा उनी छैठौं भएका थिए । कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन संगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए । मिष्टर ‘ग्राण्ड नेपाल २०१७’ का विजेता समेत रहेका दिक्पालले ‘मिष्टर वर्ल्ड नेपाल २०१७’ को कोरियोग्राफी गरेका थिए ।

द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई म्यानमारमा नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो, जसका सीईओ कमल निकोन क्षेत्री हुन् ।

सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टर समेत रहेका उनले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।