गीतकार श्रापितको पुस्तकमाथि परिचर्चा

गीतकार सुमन श्रापितको गीतसङ्ग्रह ‘भावनाको खेती’ माथि पोखरामा परिचर्चा गरिएको छ । सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठान नेपालले पोखरामा आयोजना गरेको एक कार्यक्रमबीच उक्त गीत सङ्ग्रहको परिचर्चा गरिएको हो ।गीतकार सङ्घ नेपालद्वारा यसैबर्ष ‘वर्षगीत पुस्तक पुरस्कार’ प्राप्त लोकप्रिय गीतकार सुमनको ‘भावनाको खेती’ मा १ सय २८ गीत सङ्ग्रहित छन् । बाग्लुङमा जन्मेका श्रापितको सार्वजनिक गीत सङ्ग्रहमा देशभक्ति, सामाजिक, आर्थिक, प्रेम, दु:खसुख र पकृतिका विषय समावेश गरिएको छ ।

पुस्तकमाथि परिचर्चा गर्दै समीक्षक असफल गौतमले  गीतकार सुमन राष्ट्रवादी, सचेत श्रष्टा भएको उल्लेख गरे । उनले गीतमा प्रेमभाव र प्रकृतिलाई पनि समावेश गरिएको बताउँदै अहिले कतिपय गीतहरुमा प्रेमका नाममा अश्लिल शब्दहरु समेत समावेश हुने गरेको तर सुमनका प्रेमिल गीतमा प्रेमको सहानुभूति प्रकट गरिएको बिचार राखेका थिए । १ सय ६० पृष्ठ रहेको सो गीत सङ्ग्रहको आरोह अवरोह केलाउँदै गौतमले समग्रमा गीतमा कुनै खोट नरहेको पनि बताए ।

श्रष्टाको परिचय दिँदै गजलकार रुपिन्द्र प्रभावीले सुमन पोखरेली गीतकारको ऐतिहासिक दास्ताबेज राख्न सक्ने  सर्जक भएको बताए । ‘सुमनका गीतमा हुटहुटी छन्, उनी हृदयका गीतकार हुन्’ उनले भने ।

वरिष्ठ गीतकार कृष्णहरि बरालले आफू धेरै पोखरा-काठमाण्डौ आउनेजाने नभए पनि आफ्ना गीतले पोखराका मनोरम दृष्यहरुलाई प्रस्तुत गर्ने गरेको बताए । पोखरा आफैँमा गीत, साहित्य र कला भएको उनले प्रष्ट्याए । ‘पोखराका हरेक मनोरम ठाउँ हरदम विम्व भएर आँखामा झल्किरहन्छन्, पोखरामा जता हेरे पनि कवि, लेखक र समीक्षक देखिन्छन्’ उनले भने ।

साहित्यमा दुईकुरा के ? र कसरी ? लाई बढी ध्यान दिनुपर्ने उनको भनाई छ । के ? लाई कसरी ?  प्रस्तुत गरिएको छ, त्यो नै साहित्य भएको उनले बताए । सुमनका गीतका विषयमा बोल्दै बरालले उनका गीतमा अभिव्यक्ति शैली नै आर्कषक रहेको बिचार राखेका थिए । उनका अनुसार गीतको पुस्तक छाप्नु भन्दा पहिले नै परिचर्चा गर्नुपर्छ । तर हामी पहिले पुस्तक छाप्छौँ  अनिमात्र चर्चा गर्छौं भन्दै यो गलत भईरहेको बरालले बताए । यसको सुधार हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै श्रष्टा सुमन श्रापितले सानैदेखि आफूलाई गीत लेख्न मनपरे पनि औपचारिक रुपमा १९ वर्षदेखि निरन्तर गीत लेख्दै आएको बताए । आफ्ना गीतमा सङ्गीत भरेर साथ दिने अहिलेका चर्चित सङ्गीतकार बीबी अनुरागीका विषयमा पनि उनले बोलेका थिए । सङ्गीतकार बीबीले पनि सुमन र आफ्नो सम्बन्ध बाल्यकालदेखि नै भएको उल्लेख गर्दै सुमनका सबैभन्दा बढी गीतमा आफूले सङ्गीत गर्ने अवसर पाएको पनि समारोहलाई जानकारी गराए । सुमनको लेख्ने शैलीसँग आफू राम्ररी परिचित रहेको बताउँदै अन्य गीतकारलाई पनि उनले आफ्ना राम्रा रचना उपलब्ध आग्रह गरे ।

‘हिमालयन रिडर्स कर्नर’ पोखराको हलमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ लोकगायिका एवं प्राज्ञ हरिदेवी कोईराला, सङ्गीतकार नवराज बराल लगायतले बोलेका थिए ।

आयोजक संस्थाका उपाध्यक्ष अभिमन्यु विक्रम राणाले स्वागत गरेको सो कार्यक्रमको अध्यक्षता सप्तरङ्गी प्रतिष्ठान नेपालका अध्यक्ष तथा अग्रज लोकगायक पदमराज ढकालले गरेका थिए भने कार्यक्रमको सञ्चालन मनकुमार श्रेष्ठले गरेका थिए ।