सङ्गीतका सच्चा साधक हरि

पहिलो नेपालीभाषी भुटनिज लोक गायकको रुपमा परिचय स्थापित गरेका सर्जक/कलाकार हरि पौड्याल नयाँ एल्बमको नयाँ भिडियो लिएर पुन: सङ्गीत बजारमा छाएका छन् l ०६२ सालमा आफ्नै शब्द, सङ्गीत र स्वरको गीत ‘पानी अमला’ र भोलानाथ तिमल्सिनाको शब्द तथा अडी गुरुङको सङ्गीतमा ‘पानी धिरीमा’ बोलका दुई युगल गीत सिन्धु मल्लसँग रेकर्ड गरी गीत-सङ्गीतमा पाईला अगाडि बढाएका हरि आफ्नो तेस्रो एल्बम ‘पानी अमला-३’ को ‘बालकैमा काटेर ल्याउँथ्यौं डालेघाँस निवारो’ को भिडियो मार्फत पुन: दर्शक/स्रोतामाझ आएका हुन् l भिडियो भर्खरै लोकप्रिय हास्य कलाकार वील्शनविक्रम राई ‘तक्मेबूढो’ को युट्युब च्यानल takmebuda.com बाट रिलिज भएको छ भने १ लाख बढी दर्शकले भिडियो हेरिसकेका छन् l पूर्वेली लोक भाकामा रहेको यस गीतको शब्द, सङ्गीत र स्वर हरिकै हो भने गीतमा उनलाई गायिका दीपा तामाङले साथ दिएकी छिन् l वील्शनविक्रमकै निर्देशनमा तयार भएको यस गीतको भिडियोमा वील्शनको साथमा रजनी गुरुङ, चलचित्रका लोकप्रिय खलनायक सुनिल थापा लगायतका कलाकारहरुको नृत्य-अभिनय रहेको छ l
पिता जगत बहादुर पौड्याल र माता टिका पौड्यालको परिवारमा भूटान दागनाको भाले गाउँमा माहिलो सन्तानको रुपमा जन्म लिएका र नेपालमा हुर्किएका हरि कलिलो उमेरदेखि नै गीत-सङ्गीतमा गहिरो रुची राख्थे l ‘सानोमा म बाल गीतहरु गाउँथें’ उनी बालापन स्मरण गर्दै भन्छन् l बि.एड. सम्मको अध्ययन गरेका हरि कलेजका कार्यक्रमहरुमा पनि गीत गाउने गर्दथे भने त्यो बेला मोरङको कीर्तिपुरमा आयोजित खुला गायन प्रतियोगितामा उनी द्वित्तीय विजेता समेत भएका थिए l ‘आर्थिक अभावको कारण मैले चाहेजति सङ्गीत सिक्न पाईंन’ पथरी बजारका कृष्ण योन्जनसँग हप्ताको १ दिन गरेर केही महिना सङ्गीत सिक्ने अवसर पाएका हरिले ती कहालीलाग्दा दु:खका दिन सम्झंदै भने l

नेपालमा रहँदा म्याग्दीको ‘मालिका जनहित बोर्डिंग स्कुल’मा ५ वर्षसम्म पढाएका हरिले सोही स्कुलका संस्थापकहरुको आर्थिक सहयोगमा दोस्रो एल्बम ‘मलाई तिमी मन पर्यो, पानी अमला-२’ का गीत रेकर्ड गरेका थिए l तेस्रो एल्बमसम्म आईपुग्दा पनि ‘पानी अमला’ शीर्षकलाई निरन्तरता दिएका सर्जक/कलाकार हरिको सङ्गीतप्रतिको समर्पण भाव र कलाकार बन्ने उनको चाहना कति गहिरो थियो भन्ने कुरा पहिलो गीत रेकर्डको घटनाक्रमबाट पनि स्पष्ट हुन्छ l त्यो दिन सम्झंदै उनी भन्छन् -‘ बाबालाई थाहा नै नदिई आमाका सबै गरगहना धितो राखी पैसा निकालेर ५ केजी चामल बोकी गीत रेकर्ड गर्न काठमाण्डौ आएको थिएँ l मैले त्योबेला ‘दोभान रेकर्दिंग स्टुडियो’ मा गीत रेकर्ड गरेको हुँ l शब्दरचना, सङ्गीत र स्वर तीनै विधामा सक्रिय रहँदै आएका हरिका हालसम्म १५ वटा गीत बजारमा आएका छन् l
सर्जक/कलाकार हरि सन् २०१० नोभेम्बर १७ तारिखका दिन बाबा आमासँगै अमेरिका प्रस्थान गरेका थिए l हाल उनी पत्नी सुमित्रा पौड्याल र छोरा एन्शन पौड्यालको साथमा मिचिगन राज्यको ग्रेन रेपिड भन्ने ठाउँमा बस्छन् l ‘अमेरिकामा आयोजना हुने सांगितक कार्यक्रमहरुमा पनि भ्याएसम्म र नजिकका शहरमा सहभागिता जनाउने गरेको छु ‘ उनले जानकारी गराए l पछिल्लो एल्बम ‘किन यस्तो भो, पानी अमला-३’ जर्जिया, एटलान्टास्थित भूटनिज अमेरिकन म्युजिक एशोसिएशनद्वारा आयोजित कार्यक्रममा प्रताप सुब्बाको हातबाट विमोचन गरिएको पनि हरिले जानकारी गराएका छन् l यस एल्बममा आधुनिक, लोक, लोकदोहोरी, गजल लगायतका शैलीका गीत रहेको पनि उनले बताए l मातृभूमि भूटान भएपनि, कर्मले अमेरिका पुर्याए पनि नेपाली गीत-सङ्गीतको सम्वृद्धिमा हरि पौड्याल र उनी जस्तै धेरैनेपालीभाषी भूटानीहरुको योगदान मननीय र स्मरणीय रहँदै आएको छ l