सन्तोषको अर्को प्रशंसनीय कृति ‘फूल झैं जीवन’

प्रेम प्रसाद राजभण्डारीको एकल शब्दरचना र सन्तोष श्रेष्ठको एकल सङ्गीतमा रहेको आधुनिक गीति एल्बम ‘फूल झैँ जीवन’ अनामनगरस्थित मिडिया इन्टरनेशनलको सभाहलमा लोकार्पण गरिएको छ l यो गीतकार राजभण्डारीको पहिलो र सङ्गीतकार श्रेष्ठको एकल सङ्गीतको २५ औं एल्बम भएको कुरा समारोहमा जानकारी गराईएको थियो l एल्बम वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा लोकार्पण भएको थियो भने समारोहमा डा. नेत्र एटम, प्राज्ञ ज्योतिप्रकाश लगायतको उपस्थिति रहेको थियो l
एल्बममा ‘वुद्ध विहीन लुम्बिनीमा कसले दिने ज्ञान, विगुल फुक्ने सास छैन नदी तर्ने आश जिउँदै, जवानीको रसरङ्गमा ठट्टै भएन, पुण्य भयो जीवन मेरो आमा धन्य तिम्रो कोखले, मायाप्रीति भन्नु मात्र व्यथा आफैंसँग’ र देखेको थिएँ ढलेको जीवन चुँडेको चङ्गामा’ गरी ६ वटा गीत रहेका छन् l समारोहमा गायकद्वय कृष्णभक्त राई र भविन ढुंगाना साथै सहिमा श्रेष्ठले एल्बमका आ-आफ्ना एक एकवटा गीत लाइभ प्रस्तुति दिएका थिए l गायक प्रेम प्रसादका गुरु समेत रहेका डा. नेत्र एटमले एल्बमको समीक्षात्मक टिप्पणी गर्दै आफ्ना शिष्यहरु कला र जीवनको उत्कृष्ट प्रस्तुति लिएर आएको देख्न पाउँदा गर्वको अनुभूति भएको धारणा राखेका थिए l उनले सङ्घर्षका कथा र दु:ख या सुखमा पनि सुन्दर कलाको सिर्जना हुन सक्छ भन्दै गीतका शब्दमा विविधता रहेको विचार राखे l डा. एटमले अगाडि भने- ‘गीतमा सामान्यदेखि गम्भीर प्रकृतिका शब्द छन् l गीतकारको स्वभाव शब्दमा देखिन्छ l जसले गर्दा गीत प्राकृतिक सुन्दरता जस्तै स्वच्छ छन् l सर्जकले जहिले पनि आफू अपूर्ण छु भन्ने सोच्नुपर्छ, जसले गर्दा अझ राम्रा राम्रा सिर्जनाहरु हुन्छन् l’ डा. एटमले सङ्गीतकार सन्तोषप्रति लक्ष्यित हुँदै सङ्गीतकारले पङ्क्ति र अनुप्राश नमिलेका र खस्रा शब्दमा पनि सङ्गीत गर्नुपर्ने धारणा राख्दै यसले गर्दा सङ्गीतकारले आफ्नो क्षमता देखाउन सक्ने कुरा बताए l उनले भने-‘गीतका तीन प्रमुख व्यक्ति मध्ये सङ्गीतकार मुख्य हो l ऊ अझ बढी सिर्जनशील र क्षमतावान हुनु पर्दछ l किनकि उसले गीतकार र गायक दुबैलाई सुझाव र निर्देशन दिने काम गर्दै सिर्जनालाई अझ सुन्दर बनाउँछ l’ यसैगरी समारोहमा सङ्गीतकार सन्तोष श्रेष्ठले एल्बमको टाईटल गीतकै शब्दबाट राखिएको जानकारी गराएका थिए भने कार्यक्रमका प्रमुख अतिथि प्रेमध्वज प्रधानले गीत आफ्नै पालाको जस्तो लागेको धारणा राखेका थिए l प्रधानले भने-‘आजकल धेरै ‘हाई पिस’ गाउने चलन छ, जुन सबैले गाउन सक्दैनन् l तर यस एल्बममा मौलिक र नेपाली पनका सजिला लय छन् l’
एल्बमका गीत सुनिसकेपछि गीतकार राजभण्डारीको यो पहिलो एल्बम हो भनेर पत्याउन जो कोहीलाई गारो हुन्छ l एल्बममा सरल तर गम्भीर प्रकृतिका शब्द मात्र छैनन् गीतका विषयवस्तु र भावमा समेत विविधता रहेको छ l उत्कृष्ट रचनात्मक शिल्प र सभ्य, सौम्य र जीवनसँग नजिक रहेका प्रेम प्रसादका शव्दहरुको प्रशंसा नगरी रहन सकिन्न l गीतका भावमा फरक फरक स्वाद भए झैँ सङ्गीतमा पनि सन्तोष श्रेष्ठले आफ्नो सिर्जनशीलता खन्याएर भावप्रति न्याय गरेका छन् l यस्तो लाग्छ, एल्बमका हरेक गीत अलग अलग सङ्गीतकारका सिर्जना हुन् l सङ्गीतकार श्रेष्ठले २५ औं एल्बमको यात्रा किन पूरा गरे र उनी सङ्गीत क्षेत्रमा किन झन् झन् लोकप्रिय छन् ? यसको ज्वलन्त उदाहरणको रुपमा यो एल्बमलाई पनि लिन सकिन्छ l यहाँ धेरै सङ्गीतकारहरु यस्ता पनि छन्, जसको धेरै नाम पनि चलेको छ तर उनीहरुको सङ्गीतमा विविधताको अनुभव फिटिक्कै गर्न सकिन्न l यस एल्बमले व्यावसायिक सफलता हासिल गर्छ या गर्दैन त्यो अर्कै विषय हो l तर यत्ति चाहिं भन्न सकिन्छ यो गीतकार र सङ्गीतकार दुबैको उत्कृष्ट कृतिको रुपमा रहने छ l एल्बमको उत्पादन तथा बजार व्यवस्थापनको काम गोल्डेन क्रियशनले गरेको छ l