नेपाल मण्डलद्वारा अनुरागी सम्मानित

‘नेपाल मण्डल पर्यटन नगरी’ नामक संस्थाले ‘नेपाल मण्डल चित्रकला प्रदर्शनी एवं राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ को आयोजना गरी लोकप्रिय सङ्गीतकार एवं सङ्गीत संयोजक बि. बि. अनुरागीलाई सम्मान गरेको छ l काठमाण्डौको बबरमहलस्थित ‘नेपाल कला परिषद’ मा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट सङ्गीतकार अनुरागीले सम्मान ग्रहण गरेका हुन् l समारोहमा कला, साहित्य, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो l जस अनुसार सत्यमोहन जोशी, भैरव रिसाल, शान्ता श्रेष्ठ, बि. बि. अनुरागी र नवल खड्का सम्मानित भएका हुन् l
कृष्ण के.सी.को अध्यक्षतामा एकबर्ष अघि स्थापित यस संस्थाले नेपालको पर्यटन प्रवर्धन, विकाश तथा कला-साहित्यको संरक्षण र उत्थानका लागि काम गर्दै आईरहेको थाहा भएको छ l संस्थाले यस प्रकारको सम्मान कार्यक्रमको पहिलोपटक आयोजना गरेको हो भने सम्मान कार्यक्रमसँगै नेपाल एकीकरण सम्बन्धी चित्रकला प्रदर्शनीको समेत उद्घाटन गरिएको थियो l प्रदर्शनी भने ७ दिनसम्म चल्ने थाहा भएको छ l