गीत-सङ्गीत अब समृद्ध नेपाल र सुखी नेपालीको मार्गदर्शक हुनुपर्छःअशोक राई

नेपाली गीत-सङ्गीतको दुनियाँमा गुञ्जिरहेका आवाजहरुलाई श्रवण योग्य बनाउन पर्दा पछाडि बसेर अहोरात्र मेहेनतका साथ काम गर्ने एक सफल सर्जकको नाम हो अशोक राई ।

यस क्षेत्रमा आउनुभन्दा पहिला यसको बारेमा गहन अध्ययन र धैर्यता अपरिहार्य छ भन्ने कुराको मान्यता राख्ने राई अहिलेका  व्यस्त र चर्चित सङ्गीतकार एवं सङ्गीत संयोजकहरु मध्येका एक हुन् । सङ्गीतकार राईले सङ्गीत सिर्जनाको अलवा सङ्गीत संयोजन र बिभिन्न सङ्घ-संस्थाहरुसँगको सहकार्यमा थुप्रै स्टेज कार्यक्रमहरुमा पनि सहभागिता जनाउँदै आएका छन् ।  २०७३ साल माघ २६ गते हिलेहाङ्ग हाक्पारे पालमद्वारा आयोजित लिम्बू भाषाको साँस्कृतिक कार्यक्रम वेश्मा लाम्योक “फरक पाईला” र २०७४ माघ ४ गते याक्थुङ हाक्पारे पालमको आयोजनामा सम्पन्न लिम्बू भाषाको सांस्कृतिक कार्यक्रम वेश्मा लाम्योक “फरक पाईला–२”  दुबै कार्यकममा  उनीद्वारा सङ्गीतवद्ध १४-१४ वटा गीत प्रस्तुत गरिएको थियो ।

गीत-सङ्गीतमा सधैं नयाँपन पस्किन रुचाउने सर्जक राई समय अनुसार आफूलाई पनि परिवर्तन गर्न सक्नुपर्छ भन्ने धारणा व्यक्त गर्छन् । यही सचेतनाले गर्दा नै हुन सक्छ, उनले सिर्जना गरेका गीत-सङ्गीतहरु बाल-बालिका, युवा-युवतीदेखि वृद्धवृद्धासम्मका सबै  पुस्तामाझ उत्तिकै लोकप्रिय रहेको पाइन्छ ।

सङ्गीतकार राई पर्दा पछाडि रहेर सङ्गीत सिर्जनामा तल्लीन रहेता पनि आफ्नो व्यस्त समय व्यवस्थापन गरेर आफूलाई माया गर्ने दर्शक तथा स्रोताहरुसँग प्रत्यक्ष भेटघाटका लागि बिभिन्न सांगीतिक कार्यक्रम मार्फत बाहिर निस्किन पनि रुचाउँछन् । उनी आवद्ध संस्था अन्तरा सांगीतिक समूह र साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयुक्त आयोजनामा २०७४ साल चैत्र ३१ गते नवबर्ष २०७५ सालको उपलक्ष्यमा प्रत्यक्ष भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना भएको थियो । त्यस्तै २०७५ साल असार २९–३१ सम्म भएको “मदन भण्डारी कला साहित्य सम्मिलन–२०७५” अन्तर्गतको बहुसाँस्कृतिक कार्यक्रममा पनि उनी संयोजकको भूमिकामा रहेर सातै प्रदेशमा प्रचलित परम्परागत गीत र नाच प्रस्तुत गर्न मुख्य भूमिका निर्वाह गरेका थिए भने Goreto Socio-Culture welfare society Shillong” को आयोजनामा यही भदौ २४ गते भारतको सिलोङ्गमा साँस्कृतिक संस्थान (रास्ट्रिय नाचघर) र अन्तरा सांगीतिक समूहका करिव ३२ जना कलाकारहरुद्वारा नेपाली परम्परागत गीत तथा नृत्यहरु प्रस्तुत गरिने  कार्यक्रम रहेको छ । यस प्रकारको कार्यक्रमबाट दुई देशबीच स्थापित साँस्कृतिक सम्बन्ध अझ प्रगाढ र सुमधुर हुने विश्वास समेत सर्जक अशोक राईले व्यक्त गरेका छन् ।

नेपाली गीत-सङ्गीतको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप “युग पुरुष रविकर्ण राङ्कासु दुमी राई प्रतिष्ठान”द्वारा सम्मानित सङ्गीतकार राई गम्भिरताका साथ भन्छन्- ‘गीत-सङ्गीत केवल मनोरञ्जनका लागि मात्र नभै आवाज नहुनेहरुका लागि आवाज हुनुपर्छ, समाज परिवर्तनको माध्यम हुनुपर्छ, साँचो अर्थमा गीत-सङ्गीत अब समृद्ध नेपाल र सुखी नेपालीको मार्ग दर्शक हुनुपर्छ ।’

-किरण थापा