‘प्रतिभा भएर मात्र हुँदैन, मार्गदर्शन पनि चाहिन्छ’ – शान्त शिशिर

लोक गायक तथा सर्जक शान्त शिशिर मलेसियामा सम्मानित भएका छन् । नेपाल टेलिकम र संज्ञा फिल्म्सले  संयुक्त रुपमा आयोजना गरेको विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो । उनी ‘सुगन्ध’ शीर्षकको गीतबाट उत्कृष्ट लोकदोहोरी भाकाको लागि सम्मानित भएका हुन् ।        २०४३ सालमा प्यूठान जिल्लामा जन्मिएका शान्त शिशिर एस.एल.सी. सँगै काठमाडौं प्रवेश गरेका थिए र उनी अहिले पनि गीत-सङ्गीतमा निरन्तर लागिपरेका सर्जक हुन् । उनले सङ्गीत गरेका करिव आधा दर्जन गीत बजारमा आईसकेका छन् र पछिल्लो समय  बजारमा आएको नयाँ एल्बम ‘सुगन्ध’ ले फेरि उनलाई एउटा स्थापित सर्जकको रुपमा चिनाएको छ । त्यही गीतले उनलाई अवार्ड समेत दिलायो ।

सानै उमेरदेखि उनी गाउँमा आयोजना हुने सांगीतिक तथा दशैँ-तिहारका बेला देउसी भैलो कार्यक्रममा सहभागी हुने गर्थे । रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरु सुन्ने गर्थे अनि पुराना गीतहरु गाउन मन पाराउँथे । उनको प्रतिभा देखेर त्यहीबेला नै साथीभाइ र घरका सदस्यहरुले समेत ‘यसले गीत -संगीतमा केही गर्छ है’ भन्थे ।  काठमाडौं आएपछि अग्रज सर्जक-कलाकार नारायण रायमाझीलाई भेट्ने अवसर मिल्यो  र रायमाझीकै सल्लाहमा पहिलो एल्वम रेकर्ड पनि गराए । ‘त्यतिबेलाको जमानामा अडियो भिडियोबाट  राम्रै आम्दानी समेत गरेँ’ उनी भन्छन्  ।

प्राय: आफ्नै शब्दमा लय भर्दै आएका शिशिरले आफ्ना सबैजसो गीत प्रेम वियोगमा आधारित रहेको जानकारी गराउंदै ती गीतमा रामजी खाँण, सरिता थापा मगर, विष्णु माझी, राम शिशिर सुनार लगायतका गायक-गायिकाले स्वर दिएको बताएका छन् । ‘प्रतिभा, साधना र केही गर्छु भन्ने आत्मविश्वास हुँदाहुँदै पनि यस क्षेत्रका नवप्रवेशी सर्जक /कलाकारहरुका लागि मार्गदर्शकको थेरै ठूलो आवश्यकता र भूमिका हुने रैछ भन्ने मलाई लाग्दछ  । जुन कुरा मैले नारायण रायमाझीलाई भेटेपछि महसुस गरेको हुँ । मैले सङ्गीतमा १२ वर्ष बिताएँ । केही सिकें, अलिअलि भएपनि  आफ्नो परिचय बनाएँ तर आदरणीय सर्जक/कलाकार नारायण रायमाझीको मार्ग निर्देशन नपाएको भए मेरो यात्राले कुन मोड लिन्थ्योहोला भन्ने लाग्छ । त्यसैले नव प्रवेशीहरुलाई गुरू र अग्रजहरुलाई जहिलेपनि आदर गर्नुपर्छ भन्ने सल्लाह दिन चाहन्छु’ शान्त शिशिरले आफ्ना विचार र अनुभवहरु यसरी राखे ।