भर्सटाईल शशि शेखर

काभ्रेपलाञ्चोकको बनेपामा पिता हरिकृष्ण बुढाथोकी र माता विष्णुदेवी बुढाथोकीको कोखबाट जन्म लिएका गीतकार, गायक तथा सङ्गीतकार शशि शेखर बुढाथोकी सानै उमेरदेखि गीत-सङ्गीत रुचाउँथे । बि. ए. सम्मको अध्ययन गरेका उनी कलेजमा पनि गायन प्रस्तुतिहरु दिने गर्दथे । उनले ‘दिल दिने कुरा, क्या राम्रो नेपाल, माया तिम्रो त्यो,  हातैमा घडी, तिम्रै वरिपरि’ जस्ता गीतहरु गाएका छन् । राष्ट्रीय, लोक, लोक पप, आधुनिक गीतहरु गाएका शशी भन्छन्- ‘गायक भएपछि सबै खालका गीत गाउनु पर्छ ।’ आफूलाई भर्सटाईल गायक भन्न रुचाउने उनी भन्छन्- ‘सुरु सुरुमा त गीत गाउन धेरै गाह्रो भएको थियो, पछि रमाइलो लाग्दै गयो र सहज पनि हुँदै गयो ।’ उनी गीत लेख्ने र कम्पोज दुबै काम गर्छन् । उनले गाएका गीतमा प्राय: आफ्नै शब्द र सङ्गीत रहेका छन् भने उनले अरुको गीतमा पनि सङ्गीत दिएका छन् । ‘सबै तयारी भैसकेको छ, चाँडै नै नयाँ कोसेली लिएर स्रोता-दर्शकमाझ देखा पर्ने छु’ उनले जानकारी दिए । उनी आफूले गाएको गीतमा आफैं अभिनय पनि गर्दछन् र अभिनयमा समेत उत्तिकै रुची भएको उनले बताए । सानै उमेरदेखि गीत सङ्गीतमा रुची र  गायक बन्ने रहर थियो तर यति चाँडै गायक बन्छु होला भन्ने चाहिं सोचेको थिइन’ उनी यथार्थ स्पष्ट पार्छन् । ‘सङ्गीत सिक्दैछु र प्रयास गर्दै छु  । सङ्गीत सिर्जना र प्रस्तुतिलाई निरन्तरता दिने छु’ उनले म्युजिक डायरीलाई बताए ।