सुदूरपश्चिमका-गौरव

गीतकार, गायक, सङ्गीतकार, रेडियो कार्यक्रम प्रस्तोता हुँदै म्युजिक एरेन्जर सम्मको परिचय स्थापित गरेका सुदूरपश्चिमका प्रतिभा सुरेश शाही सङ्गीतका जुनसुकै विधामा क्रियाशील रहेपनि आफूलाई गायक हुँ भन्नमै अलि बढी खुशी महसुस गर्छन् l केटाकेटीदेखि नै रेडियो नेपालबाट बज्ने बुबाका गीत सुन्दै हुर्केका सुरेशले बाल उमेरमै कलिला औँलाहरू हार्मोनियमका रिटमा नचाउने अवसर घरमै पाएका थिए l रगतमै सङ्गीतको वंशाणुगत गुण लिएर आएका उनी अवोध उमेरदेखि नै गीत-सङ्गीत र वाद्ययन्त्रप्रति आकर्षित भएका हुन् l आज उनी सङ्गीतका सबैजसो विधामा उत्तिकै सक्रिय रहेपनि म्युजिक एरेन्जलाई व्यावसायिक रुपमा अगाडि बढाईरहेका छन् l
मध्य पश्चिमको विकट जिल्ला कालिकोटको तत्कालीन मान्मा-५ र हालको खाँडाचक्र नपा-५ मा बुबा मिन बहादुर शाही र आमा चरना शाहीको परिवारमा पहिलो सन्तानको रुपमा जन्मिएका सुरेशका २ बहिनी र १ भाइ पनि छन् l बुबा मिन बहादुरको त्यो बेला सुदूरपश्चिममै गायकको रुपमा ठूलो नाम थियो l रेडियो नेपालमा उहाँका ‘सूर्य डाँडामा बुडे, आलु गोबीको तरकारी, सङ्लो  पानी छ, क्या मीठो क्या मीठो’ लगायतका लगभग २ दर्जन गीत रेकर्ड भएका थिए l काठमाण्डौ आउँदा-जाँदा बाटोको दु:ख र खर्चको कारणले त्यो समयमा रेडियोमा एउटा गीत रेकर्ड गर्नु पनि धेरै ठूलो कुरा हुन्थ्यो l
एसएलसीपछि कैलालीबाट सिएमए र नेपालगन्जबाट आईए उत्तीर्ण गरेका सुरेस ०६० सालमा राजधानी प्रवेश गरेका थिए र स्नातक उनले यतै पढे l उनी ०६३ मा देउडा गीतको कार्यक्रम ‘भला सुकाली’ संचालकको रुपमा करारमा रेडियो नेपाल प्रवेश गरेका थिए l अत्यन्तै लोकप्रिय रहेको त्यो कार्यक्रम उनले ७ वर्षसम्म चलाए भने ०६४ मा उनले लोकगीततर्फ रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरे l गृह जिल्लामा रहँदाका कुरा स्मरण गर्दै उनी भन्छन्- ‘सानैमा घरमै हार्मोनियम बजाउन सिकें l रेडियोमा बुबाका गीत सुनिन्थ्यो l स्कुलका कार्यक्रम र मेला पर्वहरुमा गीत गाईन्थ्यो l तर भविष्यमा यही क्षेत्रलाई पेशा बनाउँछु भन्ने चाहिं लागेको थिएन l’
हालसम्म लगभग २ सयजति गीतमा स्वर दिएका सुरेशले पहिलोपटक ०६३ सालमा आफ्नै शब्द, लय र स्वरमा ‘न्याउली रुँदै वन’ बोलको गीत रेकर्ड गरेका थिए भने ०६५ मा ‘भला सुकाली’ शीर्षकको पहिलो एल्बम प्रकाशित भएको थियो l जुन एल्बमको ‘झर्को नमाने’ गीतले उनलाई धेरै चिनायो, अर्थात सो गीत धेरै चल्यो l उनी आधुनिक सङ्गीतमा ०६६ मा प्रवेश गरेका थिए l ०६६ मा उनको सङ्गीत र अन्जु पन्तको स्वरमा ‘सबै सबैलाई भन्न मिल्ने’ बोलको गीत रेकर्ड भएको थियो l लोकगीत, लोकदोहोरी, देउडा, आधुनिक र फिल्मी गायनमा समेत आफ्नो स्वर दिईसकेका सुरेशले ‘मेरो कथा, नेटवर्क’ र ‘कर्णाली’ नामका तीन चलचित्रमा समेत सङ्गीत दिएका छन् l ‘नेटवर्क’ का सबै गीतमा उनको सङ्गीत रहेको छ भने ‘मेरो कथा’ मा शब्द र स्वर पनि छ l स्वअभ्यासबाट ०७० सालबाट व्यावसायिक रुपमा म्युजिक एरेन्ज गर्न थालेका उनलाई त्यसमा वुद्ध सायमीको मार्गदर्शन रहेको थियो l हालसम्म लगभग १ हजार गीतको एरेन्ज गरिसकेका सुरेशले चन्द्र प्रसाद शिवाकोटी र श्रीराम आचार्यबाट शाश्त्रीय सङ्गीतको ज्ञान लिएका हुन् l सङ्गीतलाई नै पूर्ण रुपमा अंगालेका प्रतिभा सुरेश शाही सुदूरपश्चिमकै गौरवका पात्र हुन् l