अदभूत उपन्यासको अडियो अब युट्युबमा

नेपाली भाषा, साहित्य र कला क्षेत्रमा निरन्तर कलम चलाउँदै पाठकमाझ गीत, कविता, उपन्यास लगायतका साहित्यिक कृतिहरु पस्कँदै आएका कवि, गीतकार एवं उपन्यासकार सुरेन्द्र महर्जन”अमर” को अठारौं कृति “अदभूत” उपन्यासको अडियो युट्युबबाट सार्वजनिक भएको छ ।

अदभूत उपन्यासभित्र आम कथाभन्दा छुट्टै प्रकारका कथा समावेश गरिएको छ भने यसबाट पाठकहरूले छुट्टै मजा पाउने विश्वास पनि गरिएको छ । यसअघि नै साहित्यकार ‘अमर’ का दुई उपन्यास अडियोमा सार्वजनिक भईसकेको र त्यसलाई धेरै श्रोताले मन पनि पराएका कारण यो उपन्यास पनि युट्युबमा लोकप्रिय हुने छ भन्ने लेखक सुरेन्द्र महर्जन ‘अमर’ ले विश्वास लिएका छन् ।

सन्तोष श्रेष्ठको संगीतमा रहेका गीतहरूले छुट्टै आनन्द दिने छन् भने राजकुमारको सङ्गीतमा रहेको कथामा बज्ने थोरै अर्थात स्थाई गीतले पनि श्रोताको मन जित्ने अपेक्षा गर्न सकिन्छ । मदनकृष्ण श्रेष्ठ, मेलिना राई, संगीता रायमाझी र स्वयं उपन्यासकार सुरेन्द्र महर्जनको स्वरमा रहेका गीतहरू यस ‘अदभूत’ भित्र समावेश छन् । मीठा संगीतहरू उपन्यासको अडियोमा रहेको कारण सुन्दा पनि आनन्द आउने छ । त्रिवेणीको रूपमा रहेका कथा, गीत र संगीतले गर्दा श्रोतालाई छोटो समयमा सकिए झैं लाग्ने छ । कृष्णराज अधिकारीको सुन्दर वाचन शैली अनि गीत, संगीतसँगै बगेको उपन्यासको कथाले नेपाली साहित्य र संगीतमा नयाँ आयाम थपिएको छ ।