गीतकार रविन्द्रको तेस्रो एकल सङ्ग्रह शैली

गीतकार रविन्द्र आशिष ‘शैली’ को एकल शब्दरचनामा रहेको आधुनिक गीति एल्बम ‘शैली’ को लोकार्पण भएको छ l यसअघि ‘मायाले बोलाउँछ’ भाग १ र २ प्रकाशन गरिसकेका गीतकार ‘शैली’ को यो एकल रचनाको तेस्रो एल्बम हो l हालै सिनामंगलस्थित ए वान पार्टी प्यालेशमा आयोजित एक औपचारिक समारोहमा सो एल्बमको लोकार्पण भएको हो l समारोहका सभापति गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटा, प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नसमशेर थापा, अन्य वरिष्ठ गीतकारहरु किरण खरेल, एस्पी कोईराला एवं गजलकार ज्ञानुवाकर पौडेलले एल्बम संयुक्त रुपमा लोकार्पण गरेका थिए l
समारोहलाई सम्वोधन गर्दै गीतकार रविन्द्र आशिष ‘शैली’ ले लगभग १ वर्ष अगाडि नै गीत तयार भईसकेको र  एल्बमका रुपमा प्रकाशन गर्ने कि नगर्ने भन्ने दोधार भईरहेका बेला यसरी औपचारिक कार्यक्रम मार्फत विमोचन गरिएको जानकारी गराएका थिए भने सभापतिको आसनबाट बोल्दै गीतकार चूडामणि देवकोटाले आफ्ना विचारहरु यसरी राखेका थिए-‘गीतकार रविन्द्र पुराना श्रष्टा हुनुहुन्छ l कुनै समयमा जागिरमा हामी सँगै पनि थियौं l उहाँ त्यो बेला नै मुक्तकहरु सुनाउनुहुन्थ्यो l’ गीत चेतना र मनोरन्जनको संयुक्त साहित्य भएको स्पष्ट पार्दै गीतकार देवकोटाले कतिपय गीतकारले यौनलाई पनि प्राथमिकता दिने गरेको बताएका थिए l उनले आफ्नो पन र सभ्यता जोगाउन पनि गीतकारहरुलाई आग्रह गरेका थिए l यसैगरी अर्का वरिष्ठ गीतकार एस्पी कोईरालाले रविन्द्र आशिषलाई कविता र गीतका क्षेत्रमा चिनिएको नाम भएको धारणा व्यक्त गर्दै अगाडि भने-‘सरकारी जागिरबाट निवृत्त भएपछि उहाँमा झन् युवा जोश र जाँगर देखेको छु l यसको हामीले पनि अनुशरण गर्न सके गीत र कविताको क्षेत्र अझ अमृद्ध हुन्छ l’ वरिष्ठ गीतकार रत्नसम्शेर थापाले पनि १०० वटा गीत लेख्नेको भन्दा २ वटा कविता लेख्नेहरुको घमण्ड ठूलो भएको आफूले अनुभव गरेको बताउँदै त्यस्तो सोच गलत भएको स्पष्ट पारेका थिए l उनले ‘शैली’ एल्बमभित्रका गीतमा न्यायसंगत संगीत र स्वर रहेको पनि बताएका थिए l
‘वुद्ध जन्मेको शान्तिको भूमि, नचिनेको मान्छेसंग, आँखा मागे आँखा दिन्छु, हावामा सुगन्ध मिले जस्तो, आजभोलि किन किन र विछोडमा जलेको मुटु’ गरी ६ वटा गीत समावेश भएको यस एल्बममा सन्तोष श्रेष्ठ, विनोद पछाई, नरहरि प्रेमी र नरेन्द्र प्यासीको सङ्गीत रहेको छ भने संजीवनी, राज सिग्देल, थुप्देन भुटिया, नरहरि प्रेमी, सहिमा श्रेष्ठ, विनोद पछाई, बुनु श्रेष्ठ, नारायणबाबु कोईराला, आभाष श्रेष्ठ, शान्ति शर्मा, सिलु अधिकारी र गीतकार स्वयम्को स्वर रहेको छ l एल्बममा कतै राष्ट्र, राष्ट्रियता, सम्पदा, संस्कृति र स्वाभिमानका कुरा गरिएको छ भने कतै प्रेम आकर्षण भावहरु व्यक्त गरिएको छ l ‘आँखा मागे आँखा दिन्छु’ जस्तो शाश्त्रीय महक भएको गीतले एल्बमलाई अझ ओजिलो बनाएको छ l नरहरि प्रेमीको सङ्गीत/स्वरमा रहेको डान्सिंग बिटको गीतले स्रोतालाई नयाँ स्वाद मात्र दिंदैन नाचौं नाचौं पनि बनाउँछ भने ‘आजभोलि किन किन’ बोलको गीतले एउटी बैंशालु युवतीको उमेरजन्य जिज्ञाशा, कौतुहलता र चंचलतालाई जस्ताको त्यस्तै पोखेको छ l एल्बममा प्रेम समर्पण र वियोगान्त भावका गीत पनि समावेश छन् l जसले गर्दा शाव्दीक दृष्टिकोणले एल्बममा विविधता रहेको पाईन्छ l यस एल्बमले गीतकार रविन्द्र आशिष ‘शैली’ को गीतकारिताको यात्रालाई सार्थक बनाएको छ भन्दा न्यायसंगत नै हुन्छ l