कौरा गीतमा कविता

कविता आले नेपाली लोक गीतको क्षेत्रमा नौलो नाम होईन l हुन त उनको परिचय लोक गीतमा मात्र सीमित छैन अन्य शैलीका गीतमा पनि उनको उपस्थिति उत्तिकै सवल र स्मरणीय रहेको छ l तथापि सङ्गीत क्षेत्रमा लोक गायिकाको रुपमा उनको उनी सर्वत्र परिचित छिन् l
भर्खरै यूमा आर्ट्सको युट्युब च्यानलबाट कविता आलेको स्वरमा रहेको कौरा गीतको भिडियो सार्वजनिक भएको छ l ‘साइनो राम्रो दाइ छ बरै,फूलमा राम्रो लालुपाते’ बोल रहेको यस गीतमा कवितालाई खड्ग गर्बुजा र विष्णु गन्धर्वले स्वरमा साथ दिएका छन् l खड्ग गर्बुजाको शब्द/सङ्गीत रहेको यो  गीतको भिडियो याम गुरुङको निर्देशनमा तयार भएको हो l कविता आले जस्ती ‘लेजेण्ड’ कलाकारसँग सहकार्य गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै यूमा आर्ट्सका प्रवन्ध निर्देशक तथा लोकप्रिय गायक/सङ्गीतकार खगेन्द्र कुमार लिम्बू {यक्शो] ले निकट भविष्यमा गीतको मूल स्वरूप नबिग्रने गरी कविताका लोकप्रिय गीतहरु ‘रिमेक’ गरी प्रकाशन गरिने जानकारी गराएका छन् l पुराना तथा लोकप्रिय कलाकारका गीत ‘रिमेक’ गरी नयाँ बाजागाजाको साजसज्जाका साथ प्रकाशन गर्दा नयाँ पिंढीका स्रोताले अझ उनीहरुलाई चिन्ने र बुझ्ने मौका पाउने कुरा सर्जक/कलाकार खगेन्द्रको बुझाई रहेको छ l यस बारेमा उनी अगाडि भन्छन्-‘अहिले असंख्य गीत प्रकाशन भईरहेको र नयाँ नयाँ गीतले मिडियाहरुमा प्राथमिकता पाउँदै आएकोले  पुराना गीत ओझेलमा पर्दै गएका छन् l हाम्रो कला र संस्कृति, ग्रामिण जनजीवनको चित्र र तत्कालिन सामाजिक परिवेशको प्रतिनिधित्व गर्ने त्यस्ता मौलिक एवं वास्तविक लोकगीतलाई जगेर्ना गर्ने हाम्रो पनि दायित्व भएकोले नयाँ युगको नयाँ प्रविधिमा नयाँ ढंगले गीत प्रकाशन गर्ने सोच बनाईएको हो l’

जातले मगर भएपनि लिम्बू भाषाको गीत रेकर्ड गर्ने पहिलो गायिकाको इतिहास बनाएकी वरिष्ठ गायिका कविता आलेले सर्वप्रथम रेडियो नेपालमा रेकर्ड भएको राष्ट्रिय गीतमा सामूहिक स्वर दिएकी थिईन् l त्यसपछि दोस्रो गीतको रुपमा ‘पिपले छायाँमा लाएको माया’ युगल गाएकी कविताले पहिलोपटक एकल स्वरमा भने बालगीत ‘ढुकुमुकु ढुकुमुकु खेलौं न’ मा स्वर दिएकी थिईन् l पूर्वी नेपाल इलामकी चेली, आठराईकी बुहारी कविता आलेका ‘त्यो काली लेकमा केशरी फुलेको, माछी ज्यान त ए नि लै लै, वनको थाङ्ग्रा घरैको सिमीलाई, बसी खर काटौं उठी खर काटौं, जिनको चोलो मखमली तुना, तमोरै तिरमा आउँदैन गीत मन छैन थीरमा, तोरी फूल हामीलाई नभुल, मेरो मायाँ कहाँ पुग्यो कुन्नि, घाँस काट्ने आशी’ लगायतका गीत लोकप्रिय रहेका छन् l

१५-१६ बर्षको कल्कलाउँदो उमेरदेखि औपचारिक रुपमै   गीत-सङ्गीतमा होमिएकी कविता आले बाल्यकालमा लिम्बू बस्तिहरुमा प्रचलित हाक्पारे, पालाम र ख्याली गीतबाट प्रभावित भएकी थिईन् । उनका हाक्पारे र पालाम मिसिएका गीतहरु नै धेरै रेकर्डिङ भएको पाउन सकिन्छ । कुनै समय रेडियो नेपालका सर्वाधिक लोकप्रिय गायिका मध्येकी एक  कविता आजपनि उही पुरानो जोश जाँगरका साथ गीत-सङ्गीतमा समर्पित छिन् ।