जगतमर्दन थापाको ‘म पतझड तिमी मधुमास’

वरिष्ठ गायक जगतमर्दन थापाको नयाँ एवं चौथो एल्बम ‘म पतझड तिमी मधुमास’ सार्वजनिकभएको छ । एल्बम शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यता एवं वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीको सभापतित्वमा सार्वजनिक गरिएको हो । प्रतिष्ठित भारतीय गायिका उषा मङ्गेशकरसँग युगल गायन रहेको ‘म पतझड तिमी मधुमास’ ले फरक मिठास र सौन्दर्यबोध दिलाएको कुरा उपस्थित अतिथिहरुले आफ्नो मन्तव्य राख्ने क्रममा बताएका थिए । कार्यक्रम म्यूजिक खबरको आयोजनामा सम्पन्न भएको थियो ।

एल्बम ‘म पतझड तिमी मधुमास’ लाई मोहित मर्दन थापाले निर्माण गरेका हुन् भने म्यूजिक नेपालले बजार व्यवस्थापन गरेको छ । एल्बमभित्र मायालु नयनको इशारा, सपनीमा रुवाउँछ, धुवाँजस्तै उड्छ यो मन, वसन्तझैं फुलिदिन्छु, मेरो माया कस्तो कस्तो र कोइलीले सम्झाइदियो जस्ता गीतहरु रहेका छन् ।  एल्बममा वरिष्ठ गीतकार रत्नशमशेर थापा, विश्व वल्लभ, जगत मर्दन थापा, सहदेव ढुंगाना र मोहित मर्दन थापाका शब्द रहेका छन् भने मदन सिंह, मनोहर सुनाम, राजु सिंह, किरण कँडेल, शिखर सन्तोष र महेन्द्र संगीत निकेतनको संगीत रहेको छ ।

कार्यक्रममा उषा मंगेशकर र गायक थापाको स्वरमा रहेको ‘म पतझड तिमी मधुमास’ को भिडियो पनि सार्वजनिक गरिएको थियो । दिनेश डिसीद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री सञ्चिता लुइँटेल, विशाल पहाडी लगायतको अभिनय रहेको छ कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल, रत्नशमशेर थापा, राजेन्द्र थापा, विश्व बल्लभ, श्रीपुरुष ढकाल, उन्नती बोहरा शीला, वरिष्ठ गायक प्रेमध्वज प्रधान, रामेश श्रेष्ठ, वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा, शक्ति बल्लभ, राजु सिंह लगायत गीतसंगीत क्षेत्रका करिब ६ सय विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।