युकेमा भुमरीको एकल सिर्जना साँझ सम्पन्न

युकेमा हालै ‘भावेश भुमरी सिर्जना साँझ, युके’ सफल रुपमा सम्पन्न भएको छ । कार्यक्रम रापती समाज, युकेले आयोजना गरेको थियो l भावेश नेपालबाट विभिन्न कार्यक्रमहरूको निम्तोमा युके पुगेका हुन् । भुमरीको युके बसाईंका क्रममा धेरै कार्यक्रम सकिने र थपिने क्रम चलेको थियो । विशेषतः भुमरीको जन्मभूमि राप्तीको प्यूठान भएकाले राप्ती समाज, युकेले भुमरीलाई एकल सिर्जनामार्फत कार्यक्रममा उतारेको हो । एउटा कवि तथा गीतकार युकेमा पुगेर यसरी व्यस्त भएको यो नै पहिलो भएको जानकारी प्राप्त भएको छ । राप्ती समाजको कार्यक्रमलाई विशेष रूपले फोक्सटोन नेपाली समाज र मगर संघ केन्ट शाखाले सहयोग गरेर भावेशलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

भावेशले गीतकविता लेख्ने र प्राय आफ्ना सिर्जनामै रमाउने सामान्य व्यक्तिलाई युकेजस्तो देशमा बोलाएर न्यानो मञ्च र स्थान दिएको कुरा कहिल्यै भुल्न नसक्ने कुरा राखे ।  भुमरीले पर्दापछाडि रहेको आफूलाई स्रोता, दर्शक र प्रशंसकहरूले नै अगाडि ल्याएर सेलिब्रेटीसम्म बनाउने काम गरेकामा खुसी लागेको कुरा ब्यक्त गरेका थिए । कार्यक्रमको बारेमा टिप्पणी गर्दै कवि विजय हितानले गीतकार भावेशको धेरै चर्चा परिचर्चा गरिनु, भावेशले आफ्ना कुराहरू राख्नु, रचनाहरू वाचन गर्नु, उनकै गीतहरू गाइनु, म्युजिक भिडियो प्रदर्शन गरिनु अनि अडियो गीत सुनिनु जस्ता कुराले गीतकार भावेशको दायरालाई निक्कै फराकिलो बनाएको कुरा व्यक्त गरे । हितानले यो भावेशको जीवनकै एउटा अविष्मरणीय कार्यक्रम भएको पनि ठोकुवा गरे ।

कार्यक्रममा फोक्टोन नेपाली समाज, युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ प्रमुख अतिथिका रुपमा र राप्ती समाज युकेका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार टीका ठकुरी सभापतिका रुपमा उपस्थित थिए । कार्यक्रममा मगर संघ युकेका उपाध्यक्षद्वय बम थापा सूर्यवंशी मगर र सीता पुन, महासचिव लालु पुन, गीतकार सङ्गीता वायुङ राई, गायक तथा सङ्गीतकार गङ्गा थापा, कलाकार प्रकाश राना लगायतका धेरै व्यक्तिहरूको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन कवि करिष्मा घमले गरेकी थिइन् ।