कर्मशील हरि शरण

सङ्गीतमा भविष्य छैन भनेर जान्दा जान्दै पनि अन्तस्करणको चाहनाले गर्दा युवा उमेरदेखि नै समर्पण भावले यस क्षेत्रमा लागेका वरिष्ठ सर्जक, कालाकार एवं प्राविधिक हरि शरण सायमीले जीवनका अधिकांश वसन्तहरु अनि आफ्नो उर्जाशील उमेर साधना, प्रस्तुति र सिर्जनामै बिताएका छन् l जीवनमा उनले सङ्गीत बाहेकको अन्य कुनै पेशा गरेनन् र गर्न चाहेनन् पनि l न त आफ्नो रोजाईप्रति उनलाई कुनैदिन पछुतो भयो न सङ्घर्षबाट हार मानेर कुनैदिन उनी विचलित भए l जुनबेला उनी यस क्षेत्रप्रति आकर्षित भएका थिए, जुन समयमा उनले तन मनबाट साधना सुरु गरेका थिए, त्योबेला सङ्गीत सोखको विषय मात्र थियो l ‘यो क्षेत्रमा लागेकोमा म पूर्ण रुपमा सन्तुष्ट छु l सङ्गीतकर्मबाट नै मैले आफ्नो घर-व्यवहार चलाएँ, आफ्ना सन्तानलाई हुर्काएँ, पढाएँ र आर्थिक उन्नति पनि गरें l जायज आवश्यकताका लागि परिवारले पनि आजसम्म गुनासो गर्नु परेको छैन l’ सङ्गीतका धेरैजसो विधाका सफल सर्जक, कलाकार एवं प्राविधिक सायमी भन्छन् l
हरि शरणको जन्म काठमाण्डौको सीतापईलामा भएको हो l पिता ज्ञान बहादुर मानन्धर र माता सानु मानन्धरको परिवारमा एकमात्र सन्तानको रुपमा जन्मिएका हरिले लगभग २ बर्षको अवोध उमेरमै पिताको काख गुमाएका थिए l कीर्तिपुरको मामघरमा हुर्किएका हरिले स्कूल कीर्तिपुरमै पढेका थिए भने बिहे पनि कीर्तिपुरबाट नै गरे l सोझो-सरल मिजास, निष्कलंक व्यबहार र मिलनसार बानीले गर्दा उनी साथीभाइमाझ पनि सबैको प्रिय थिए l भद्र लवज र थोरै बोल्ने उनको जन्मजात स्वभावका कारण हरि अरुका लागि कहिल्यै पनि दिक्दारीको पात्र बनेनन् l आजपनि उनी उत्तिकै शालीन र भद्र छन् l हाल उनको स्थाई बसोबास पनि कीर्तिपुरमै रहेको छ l
सङ्गीतसँग साईनो कसरी गाँसियो भन्ने सन्दर्भका बारेमा पुराना कुरा सम्झंदै हरि भन्छन्-‘त्यो बेला टोल टोलमा भजनको चलन थियो l मामलाका हजुर्बा पनि भजनका सोखिन हुनुहुन्थ्यो l कहिलेकाहिँ घरमै पनि भजनको कार्यक्रम राख्नुहुन्थ्यो l म पनि त्यस्ता कार्यक्रमहरुमा सहभागी हुन पाउँदा दङ्ग पर्थें l घर नजिकै गोविन्द किपु नामका उस्ताद बस्नुहुन्थ्यो l फुर्सद भयो कि म उहाँसँग सिक्न जान थालें l भोकल, हार्मोनियम र तबला सबै सिकाउनुहुन्थ्यो उहाँले l गोविन्द गुरु नबितुन्जेल म सिक्न गईरहें l’ हरि शरणका पहिलो गुरु गोविन्द किपु भएपनि उनले पण्डित होमनाथ उपाध्यायसँग तवलाको थप ज्ञान लिएका थिए l उनले इलाहाबादबाट तबलामा माष्टर्स अर्थात एमम्यूज गरेका छन् l
बालाजूस्थित गायक किरण प्रधानको स्कूल ‘होली गार्डेन’ मा तबला प्रशिक्षक भएर काम गर्दैगर्दा त्यही स्कूलका ‘भोकल टिचर’ विनय लामाले उनलाई गोपाल योन्जनकोमा पहिलोपटक लिएर गएका थिए l बिस्तारै उनी वरिष्ठ संगीतज्ञ योन्जनका प्रिय तबलिष्ट भए l उनले गोपाल योन्जनका धेरै गीतमा तबला बजाएका छन् l ‘मलाई गोपाल दाइले ‘पासा’ भनेर बोलाउनुहुन्थ्यो l उहाँले ‘पासा’ भनेकोले उहाँसँग सहकार्य गरिरहेका दार्जिलिंग ग्रुपका सबैजसो साथीहरुले मलाई ‘पासा’ नै भन्न थाले l अहिले पनि पुराना साथीहरुले मलाई ‘पासा’ भनेपछि चिन्छन्’ पुराना दिनहरु सम्झंदै हरि शरण भन्छन् l ‘मैले गोपाल दाइबाट धेरै कुरा सिक्ने मौका पाएँ l त्यो बेला गजलको चलन थियो l म राजधानीका रेष्टुरेन्ट-होटलहरुमा तबला बजाउन गईरहन्थें l ‘निशानी-५२’ एल्बम निकालिसकेपछि एकदिन गोपाल दाइले २० वर्ष अगाडि नै कम्पोज गरेको भन्दै एउटा गीत सुनाउनुभयो l गीतको भाव यति मार्मिक थियो कि सुन्दा सुन्दै मेरा आँखाबाट आँशु आएछन् l मैले पनि अफ्ठेरो मान्दै दाइलाई नेपाल भाषाको एउटा आफ्नो कम्पोज सुनाएँ दाइले राम्रो छ भनेर हौसला दिनुभयो l त्यसपछि मैले पनि गर्न सक्ने रैछु भन्ने आत्मविश्वास जाग्यो र त्यो गीत ईश्वर अमात्यको स्वरमा उहाँकै घरमा रहेको स्टुडियोमा रेकर्ड पनि गरियो l म वाद्यवादकबाट यसरी सङ्गीतकार भएको थिएँ’ नेपाल भाषाका ६ वटा, नेपाली भाषाका ४ वटा एकल एल्बमका साथै दर्जनौ फुटकर गीतमा सङ्गीत सिर्जना गरिसकेका हरिले आफ्ना कथा यसरी सुनाए l

हरि शरण सानैदेखि जिज्ञाशु स्वभावका थिए l विगतमा उनले लामो समय वाद्यवादकको रुपमा सिंगापुर बस्ने मौका पाएका थिए l त्यहाँ रहँदा रेकर्दिंग सम्बन्धी धेरै कुरा सिक्ने मौका पाएको उनी बताउँछन् l १६ वर्ष अघि क्षेत्रपाटीमा ‘मेलोडी स्टुडियो’ नामक रेकर्दिंग स्टुडियो स्थापना गरी रेकर्दिंगलाई मुख्य व्यवसाय बनाउँदै आएका हरि रेकर्दिंगका साथसाथै म्युजिक एरेन्ज र सङ्गीत सिर्जनालाई पनि निरन्तरता दिँदै आएका छन् l एरेन्ज उनले स्वअभ्यासले सिकेका हुन् भने पियानो नोर्बु छिरिंग र कमल उपाशकसँग सिकेका थिए l हाल उनको अनामनगरमा ‘स्ट्रिङ्स रेकर्दिंग स्टुडियो’ संचालनमा रहेको छ l तबलामा माष्टर्स गरेको भएपनि स्टुडियो संचालनमा ल्याएपछि भने उनले तबला वादनलाई प्रमुख कर्म भने बनाउन सकेनन् l तबलाका अतिरिक्त हार्मोनियम, किबोर्ड र टुंगनाका समेत कुशल वादक हरिले हालसम्म करिव ६ सयजति गीतमा सङ्गीत संयोजन गरेका छन् भने केही गीत उनका स्वरमा पनि रेकर्ड भएका छन् l बाल, भजन, राष्ट्रिय, आधुनिक लगायतका विधामा सङ्गीत दिएका हरि शरणका सङ्गीतमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, रामकृष्ण ढकाल, शिव परियार, स्वरुपराज आचार्य, कर्नादाश, अन्जु पन्त, रिमा गुरुङ होडा, सुरज थापा, निशा देशार, सङ्गीता प्रधान राना आदि गायक-गायिकाले स्वर दिएका छन् l उनको सङ्गीतको गीत ‘म त अजनवी’ बाट निशा देशारले इमेज अवार्ड समेत पाएकी छिन् l
जनसम्पर्कमा कम रहेका, सम्बन्धित क्षेत्रका कार्यक्रम, सभा-समारोहहरुमा विरलै जाने गरेका हरि पुरस्कार र सम्मानको आयोजना गर्ने व्यक्ति तथा सङ्घ-संस्थाहरुको नजरमा पनि त्यति पर्ने गरेका छैनन् l चाकडी या भनसुन गर्ने उनको स्वभाव छैन l उनी आफ्नै स्टुडियोको काममै व्यस्त रहन्छन् र यसैमा सन्तुष्ट पनि छन् l उनलाई कसैप्रति गुनाशो पनि छैन l