प्रतिलिपि कार्यालयमा नयाँ रजिष्ट्रार

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा सातौँ रजिष्ट्रारको रुपमा प्रकाश आचार्य आएका छन् l यस अघिका रजिष्ट्रार राजेन्द्र सिग्देलको सरुवा भएपछि रिक्त रहेको सो पदमा आचार्य आएका हुन् l नयाँ रजिष्ट्रार आचार्यले गत असार ४ गतेबाट रजिष्ट्रारको रुपमा हाजिर गरेका थिए l राजेन्द्र सिग्देल भन्दा अगाडि यस कार्यालयमा राम प्रसाद भट्टराई, जन्मेजय रेग्मी, वीर बहादुर राई, विसु कुमार के. सी. र बाबुराम गौतमले रजिष्ट्रारको कार्यभार सम्हालेका थिए l
०५७ सालमा खरदार पदबाट सरकारी सेवामा प्रवेश गरी ३ वर्ष अघि उपसचिवमा बढुवा भएका लेखनाथ नगरपालिका- ११, पोखराका स्थाई बासिन्दा प्रकाश आचार्य यस कार्यालयमा आउनु अघि शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गतको राहत तथा पुनर्स्थापना ईकाई, बबरमहलमा विभागीय प्रमुखको रुपमा कार्यरत थिए l जागीरको सिलसिलामा लम्जुंग, मोरंग र काभ्रे जिल्लाका सरकारी कार्यालयहरुमा कार्यसम्पादन गरिसकेका रजिष्ट्रार आचार्यले  मोरंगको विराटनगरमा घरेलु तथा साना उद्योग कार्यालयको प्रमुख हुँदा लामो समयदेखि विवादित रहेको भवन निर्माण सम्बन्धी विषयलाई आफ्नो कुशल पहलद्वारा समाधान गरेका थिए भने राहत तथा पुनर्स्थापना ईकाईमा पनि उनको कार्य सम्पादन प्रशंसनीय रहेको थियो l यस कार्यालयमा सरुवा भएर आएपछि रजिष्ट्रार आचार्यलाई संगीत क्षेत्रका तीनवटै सीएमओहरुले छुट्टाछुट्टै कार्यक्रम गरी स्वागत गरेका थिए l रजिष्ट्रारको रुपमा कार्यकाल सुरु भएपछि उनले सुर्खेत र धनगढीमा प्रतिलिपि अधिकार सम्बन्धी २ वटा गोष्ठी पनि सम्पन्न गरिसकेका छन् l यसैगरी रोयल्टी व्यवस्थापन तथा अनुगमन समितिको बैठक पनि २ पटक बसिसकेको छ भने बैठकले केही महत्वपूर्ण निर्णयहरु गरी सम्बन्धित निकायमा पत्राचार गरिसकेको छ l यसैबीचमा सुकुटेमा रोयल्टी वितरणको मापदण्ड विषयमा छलफल भएको छ साथै सामुदायिक र व्यावसायिक रेडियोका एशोसिएशनहरुसँग रोयल्टी सम्बन्धी समझदारी समेत कायम भएको छ l