म्यूजिक खबर पाक्षिककी सम्पादक सविता पोखरेलको शब्दमा तीजगीत ‘विरानो भो माइतीको आँगनी’ को भिडियो सार्वजनिक भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ वरिष्ठ गीतकार उन्नती बोहरा शीलाको प्रमुख आतिथ्य एवं चर्चित गायक शिव परियार, गीतकार सङ्घ नेपालका उपाध्यक्ष भरत बमजन लगायतको उपस्थितिमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
म्यूजिक खबरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै चर्चित गायक शिव परियारले तीज गीतले वास्तविकता बोकेको भन्दै गीतकार सविता पोखरेललाई शुभकामना दिएका थिए । गायिका काव्य आचार्यको स्वरको मिठास सुन्न पाएको भन्दै गायक परियारले गीत-सङ्गीत क्षेत्रमा पत्रकारिताका माध्यमले महत्वपूर्ण योगदान पु¥याउँदै आएकी पत्रकार सविता पोखरेललाई गीतकारको रुपमा देख्न पाएको भन्दै शब्दशिल्पको समेत प्रशंसा गरेका थिए ।
त्यसैगरी गीतकार सङ्घका उपाध्यक्ष भरत बमजनले गीतकार सविता पोखरेलको शब्द लेख्ने शैलीले लोभ्याएको बताएका थिए । उनले ‘विरानो भो माइतीको आँगनी’ मा शब्द, सङ्गीत र स्वरसँगै एरेन्जमेन्ट र भिडियो पनि राम्रो बनेको बताउँदै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै चलचित्र पत्रकार सङ्घकी उपाध्यक्ष गीता अधिकारीले गीत सङ्गीत राम्रो बनेको भन्दै सफलताको शुभकामना दिएकी थिइन् ।
त्यस्तै गायिका एवं सङ्गीतकार काव्य आचार्यले गीतकार सविता पोखरेलको शब्द मन परेकै कारण आफूले सङ्गीत सिर्जना गरेको बताउँदै गीत सबैले मन पराइदिनुहुने आशा व्यक्त गरेकी थिइन् ।
कार्यक्रमकी प्रमुख अतिथि प्राज्ञ एवं गीतकार उन्नती बोहरा शिलाले माइती चेलीको वेदना मात्र नभएर पुराना दिनको सम्झना समेत व्यक्त भएको बताउँदै गीतकार सविता पोखरेलको पहिलो सिर्जना जस्तो नलागेको बताएकी थिइन् । माइतीघर छाडेर पराईघर जाने चेलीको परम्पराभित्र मनमा गुम्सिएका अनेकौं वेदनालाई मात्र नभएर साथीसंगीसँग खेलेको बालापनको समेत सम्झना गरिएको यस गीतमा स्वर, सङ्गीत र भिडियो पनि मन छुने बनेको बोहराले बताइन् । कार्यक्रममा गीतसँग आबद्ध स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम संचारकर्मी राधिका अधिकारीले संचालन गरेकी थिइन् ।
‘विरानो भो माइतीको आँगनी’ बोलको गीतलाई विपिन आचार्यले एरेन्ज गरेका छन् भने भिडियोलाई राजीव बलामीले निर्देशन गरेका छन् । रिना थापा मगर, रिना राउत र मेलिना ठकुरीको अभिनय रहेको म्यूजिक भिडियोलाई कृष्ण श्रेष्ठले छायाँकन गरेका हुन् भने दिनसन शाहले सम्पादन गरेका हुन् । भिडियोलाई म्यूजिक खबरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
https://www.youtube.com/watch?v=fyNpFXMNLhc