काठमाडौँ,२३ साउन । दोलखाका विक्की कार्की पहिलोपल्ट ‘यो जिन्दगी’ नामक म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । उनलाई रेखा, सुमन र निरुताले अभिनयमा साथ दिएका छन् । केही वर्षअघि कुशल हिरो बन्ने आकांक्षा बोकी उनी राजधानी छिरेका थिए ।
दोलखा तामाकोशी गाउँपालिका वडा नं. १(तत्कालीन भीमकोट गाविस वडा नं. ८) मा वि.सं. २०४४ सालमा बुबा नरबहादुर कार्की र आमा मानकुमारी कार्कीको सुपुत्रको रुपमा विक्कीको जन्म भएको हो । दुई दिदी र एक दाजुका भाइ विक्कीले प्लस टु सम्मको शिक्षा गाउँबाटै लिएर उच्च शिक्षा तथा अवसरको खोजी गर्दै राजधानी छिरेका हुन् ।
विक्कीले राजधानी छिरेपछि मीनभवन क्याम्पसमा वाणिज्य शास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनी अहिले निर्माण व्यवसायमा संलग्न छन् ।
फुर्सदको समयमा कलाकारिता र समाजसेवामा समेत सक्रिय हुँदै आएका उनी अविवाहित युवा हुन् । पाख्रिन नृत्य कला केन्द्रबाट डान्स र अभिनय सिकेका उनले आफ्ना कलाकारिताको गुरु दिनेश पाख्रिन रहेको बताउँछन् । त्यस्तै केही समयसम्म द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठसँग पनि औपचारिक ज्ञान हासिल गरेको उनी बताउँछन् ।
यसको अतिरिक्त विक्की सानैदेखि खेलकुदमा रुचि राख्ने गर्दथे । उनले सितेरियो कराँतेमा ब्ल्याकबेल्ट समेत लिएका छन् । कलाकारितामा रियालिटी दिन सक्नुपर्ने कुरामा उनी सचेत छन् । उनी चलचित्रमा समेत अभिनय गर्ने तयारीमा रहेको बताउँछन् ।
यो म्युजिक भिडियोमा समुन लेप्चा (वाङ्चु)को शब्द रहेको छ भने दीपेन याक्थुङ्वा ‘भेगा’को संगीत र तारा लोप्साङ लिम्बूको सुमधुर स्वर सुन्न सकिन्छ । भिडियोमा विक्की कार्की, रेखा लिम्बू, सुमन लेप्चा (वाङ्चु) र निरुता लिम्बूको कुशल अभिनय हेर्न सकिन्छ । सन्तोष गुरुङले सम्पादन तथा निर्देशन गरेको यो म्युजिक भिडियोमा रोशन श्रेष्ठले छायांकन गरेका हुन् । क्यानभास प्लसले उत्पादन गरेको यस म्युजिक भिडियोको निर्माण ज्योति तामाङ(लेप्चा) ले गरेकी हुन् ।
-मदनकृष्ण सिलवाल
https://www.youtube.com/watch?v=NvLUc8Vl7-A&feature=share