‘नाइँ नभन्नु ल-५’ को गीत सार्वजनिक

ट्रेलर र गीतका कारण चर्चामा रहेको ‘नाईं नभन्नू ल ५’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । बालापनको उमेर शीर्षकको गीतमा वसन्त सापकोटाको सङ्गीत र समीक्षा अधिकारीको स्वर रहेको छ ।

आफ्ना हरेक फिल्मबाट कलाकार तथा गायक गायिकालाई अवसर दिँदै आएका निर्देशक विकास आचार्यले यो गीतबाट समीक्षा अधिकारीलाई मौका दिएका हुन् । ‘छक्का पञ्जा ३’ को सुटिङको समयमा स्कुलको कार्यक्रममा समीक्षालाई ‘नाईं नभन्नू ल’ कै गीत गाइरहेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान र मुख्य सहायक निर्देशक सुदिप कुँवरले भेटेपछि दुबैले समीक्षालाई फेसबुकमा लाइभ गीत गाउन लगाएका थिए । नयाँ गीत रेकर्डको क्रममा बाल आवाजको खोजी भइरहेको समयमा समीक्षाको आवाज सुनेपछि संगीतकार वसन्त सापकोटा र निर्देशक आचार्यले समीक्षालाई पोखराबाट झिकाई गीत रेकर्ड गराएका थिए ।

अनुभव र सेड्रिनाले नृत्य गरेको गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । निरुता सिंह, दिलिप रायमाझी, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, अभिषेक नेपाल आदिको अभिनय रहेको फिल्म भदौ ८ मा प्रदर्शन हुँदै छ । गीतको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने सम्पादन अर्जुन जिसीको रहेको छ ।