देव कुमारीको ‘प्रेम वर्षा’ उपन्यासको लाकार्पण

काठमाडौँ, १९ साउन । प्रवासमा रहेर पनि साहित्यमा समर्पित काभ्रेली चेली देवकुमारी गौतमद्वारा लिखित उपन्यास प्रेमवर्षा’को आज राजधानीमा लोकार्पण गरिएको छ । विशेष कारणले लेखिका उपस्थित हुन नसके पनि उनकी आमा हिरादेवी गौतमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सो उपन्यासको वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ कथाकार माया ठकुरी, साहित्यका डा.घनश्याम न्यौपाने ‘परिश्रमी, डा. गार्गी शर्मा, अन्तर्राष्ट्रिय साहित्यक समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार देवकुमारी गौतमकी आमा हिरादेवी गौतम, सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कँडेल आँसुले सामुहिक रुपमा लोकार्पण गर्नुभएको हो ।

राजधानीको होटल हार्दिकमा सहयात्री दर्पण नेपालद्वारा आयोजित कार्यक्रममा उन्यासका बारेमा पुरु लम्सालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । नाट्यकर्मी पुरु लम्साल उपन्यसाका बारेमा भन्नुहुन्छ –‘हरेक सम्बन्धलाई बाँध्ने काम मायाले गर्छ, प्रेमले गर्छ । माया प्रेम नहुँदो हो त संसार कस्तो हुन्थ्यो होला ? कल्पना गरौँ त ! मायाको परिभाषा फरकफरक होला, मायाको प्रकार भिन्नाभिन्नै होला, तर अनुभूति फरक हुनै सक्दैन । यो संसार मायाले अडेको छ । माया, प्रेम र अपनत्व बाँड्न सक्यौँ भने जिन्दगीले सार्थकता पाउँछ । दुःखसुख जिन्दगीका दुई पाटा हुन् । दिन पछि रात र फेरि दिन भए जस्तै जिन्दगी हो दुःखसुख भोग्नै पर्छ । जीवनका उराठलाग्दा यामहरु पनि मायाले मनमोहक बनाउन सकिने रहेछ, जुनकुरा उपन्यासमार्फत पोखिएका छ प्रेमवर्षा भनेर ।”

सो अवसरमा सहयात्री दर्पण नेपालकी सचिव अम्बिका अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सिर्जना पौडेलले गर्नुभएको थियो । यसैगरी वरिष्ठ कथाकार माया ठकुरी, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, राधेश्याम लेकाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा तीन व्यक्तित्वहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा साहित्यिक पत्रकार दीपक सापकोटा, साहित्यकार दुर्गा काफ्ले र हिरादेवी गौतम रहेका छन् । त्यस्तै, सहयात्री दर्पण नेपाल संस्थाका आजीवन सदस्य बन्नुहुने नयाँ सदस्यहरुलाई समेत सदस्यता प्रमाणपत्र प्रदान गरी सम्मान प्रकट गरिएको थियो ।

सहयात्री दर्पण नेपालले साहित्यिक मनहरुलाई प्रकाशन र प्रसारण गर्ने कार्यमा साँघुको कार्य गर्ने उद्देश्यका साथ केही महिना अघि मात्रै स्थापना गरिएको र अहिले ३५ जनाभन्दा बढी आजीवन सदस्य बनिसकेका संस्थाका अध्यक्ष गोविन्द कँडेल आँसुले बताउनुभयो ।

– मदनकृष्ण सिलवाल