‘आधासत्य’को सार्वजनिकीकरण

काठमाडौँ, १० असार । नेपाली साहित्य श्रीवृद्धिको कार्यमा सहयात्री दर्पण नेपाल कोसेढुंगा साविक हुने धारणा सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले राख्नुभएको छ । राजधानीमा असार ९ गते शनिवार आयोजित एक कार्यक्रमबीच मन्त्री सहयात्री दर्पण, नेपाल नामक संस्थाको समुद्घाटन गर्दै मन्त्री पण्डितले उक्त धारणा राख्नुभएको हो । सो अवसरमा उपन्यासकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’को मन्त्री पण्डितले लोकार्पण गर्नुभएको थियो ।

सो अवसरमा समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराल, वरिष्ठ साहित्यकार माया ठकुरी, वरिष्ठ साहित्यकार तथा पत्रकार मोहन दुलाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली लगायत व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

सो अवसरमा लोकार्पण गरिएको पुस्तक ‘आधासत्य’ का बारेमा बोल्नुहुँदै वरिष्ठ साहित्यकार माया ठकुरीले भन्नुभयो–‘उपन्यासका क्षेत्रमा नारी लेखन दिनप्रतिदिन बढ्नु राम्रो कुरा हो । प्रवासमा रहेर अनेकन बाधाअड्चनको सामाना गर्दै लेखन यात्रालाई अंगाल्नु चानचुने कुरा होइन l’ त्यस्तै, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बरालले नेपालको झापामा जन्मेकी चेलीले देशविदेशमा पुगेर पनि साहित्य र संस्कृतिलाई बिर्सनु हुँदैन भनेर आधासत्य सिर्जना गरेकोमा बधाई दिँदै साहित्यका अतिरिक्त सामाजिक सेवा कार्यक्रमा अगाडि बढ्नको लागि भगवती ढुङ्गेललाई शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै, वरिष्ठ साहित्यकार मोहन दुवालले महिला स्रष्टा र साहित्यकारहरुको आगमनले नेपाली साहित्य वाङमय अझै धनी हुने कुरामा जोड दिँदै निरन्तर रुपमा लागिप¥यो भने मात्रै साहित्यमा गतिशीलता देखिन सकिन्छ भन्ने धारणा राख्दै उपन्यकार भगवती ढुङ्गेललाई शुभकामना दिनुभयो । साथै, उहाँले नव प्रतिभा एवं स्रष्टाहरुको लेखन प्रकाशन कार्यक्रम टेवा पु¥याउने कार्यमा सहयात्री दर्पण नेपाल र त्यसका अध्यक्ष गोविन्द कँडेल आँसुलाई समेत धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सो अवसरमा विभिन्न स्रष्टा तथा समाजसेवी, सञ्चारकर्मी एवं संस्थाका आजीवन सदस्यहरुलाई सम्मान गरिनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा रंगकर्मी पुरु लम्साल, पत्रकार तथा सर्जक मदनकृष्ण सिलवाल, युवा गायक मानव कालुङ, प्राकृतिक चिकित्सा व्यवसायी विनोदकुमार भण्डारी, महिला उद्यमी एवं समाजसेवी विना कुम्पाख, युवा खेलाडी सपना ढकाल लगायतका व्यक्तिहरु थिए l ‘साहित्यिक मनहरुको संगमको रुपमा सहयात्री दर्पण नेपाललाई हामीले स्थापना गरेका हौँ, जो स्वदेश र विदेशमा रहेर सिर्जना गरिरहनुभएको छ, त्यस्ता व्यक्तिहरुलाई समाहित गराउँदै उहाँहरुकै सिर्जनालाई सम्पादन/प्रकाशन गर्ने कार्यमा सहयात्री दर्पण नेपालले एउटा सहकार्य गर्दै आगामी दिनमा अघि बढ्ने छ र यसमा समाहित हुन चाहनुहुनेहरुलाई सदैव आव्हान गर्दै प्रथम कृतिका रुपमा भगवती ढुङ्गेलको पुस्तक प्रकाशन गर्न पाउँदा सहयात्री दर्पण नेपाल परिवार अत्यन्तै खुशी छ’ सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कँडेल आँसुले भन्नुभयो ।

– मदनकृष्ण सिलवाल