सिन्डिकेट विरुद्धमा संगीतकर्मीहरु उत्पादक समाजको विवाद उत्कर्षमा

चुनावमा पराजित सुबास रेग्मी प्यानलले किर्ते मतदाता खडा गरी संस्था कब्जा गरेको आरोप लगाउँदै उत्पादक समाज नेपालका वर्तमान अध्यक्ष निर्मलराज ढकाल प्यानललाई पद छाड्न दबाब दिँदै चरणवद्ध आन्दोलन गरिरहेकै बेला उत्पादक समाजले ‘सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रम’ को आयोजना गरेको छ l रेग्मी प्यानलले ढकाल प्यानललाई अवैधानिक तरिकाले चुनाव जितेको आरोप लगाउँदै छानबिनको लागि उच्च अदालत पाटनमा हालेको मुद्दाको फैसला भने भएको छैन  l गत जेठ ७ गते कमलादीस्थित सी डब्लु क्याफेमा आयोजित सो कार्यक्रममा सङ्गीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुली, सङ्गीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर, सङ्गीतकार संघका तत्कालीन अध्यक्ष लक्ष्मण शेष, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा  लगायत गीत सङ्गीत क्षेत्रका स्रष्टा/कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो l
समारोहमा सूर्य बहादुर मगरले स्लाइड शो गर्दै विगतदेखि हालसम्मको म्युजिक व्यवसायबारे प्रकाश पारेका थिए l उनले एनसेलले एग्रीगेटरहरुलाई आरबीटीका लागि उपलब्ध गराएको सुबिधाको कोटामा सीमित कम्पनीहरुले मात्र गीत राखेर कमाएको भन्दै सङ्गीत क्षेत्रमा रहेको सिन्डिकेट हटाउनुपर्ने कुरामा जोड दिएका थिए l पहिले पर्चेज गरेर र अहिले सिन्डिकेट खडा गरेर सीमित कम्पनीहरुले मात्र ब्यापार गरिरहेको भन्ने विषयमा केन्द्रित रहेको सो कार्यक्रमका सबैजसो वक्ताले त्यसलाई तोडेर स्वस्थ प्रतिस्पर्धाका आधारमा सबैले व्यवसाय गर्न पाउनुपर्ने धारणा राखेका थिए l
कार्यक्रममा तुलसी पराजुलीले धर्म युद्धको घोषणा गर्दै अगाडि भने-‘एकथरि मान्छेहरुले करोडौं कमाईरहनु र उनीहरुको गाडी टुलुटुलु हेर्दै महेश खड्काहरु नेपाल यातायात खोज्दै हिँड्नु ? अब हरियो घाँस भित्रका सर्पहरु कहाँ कहाँ मर्छन् l हामीले यतिबेला खुट्टा कमाउनु भनेको भोलि फेरि स्रष्टा बिरामी पर्दा पैसा उठाउँदै हिँड्ने अवस्थाको स्थिति हो l’ यसैगरी लक्ष्मण शेषले पनि समारोहलाई पीडितहरुको भेला भन्दै आफूलाई प्रतिलिपि अधिकार र वौद्धिक सम्पतिको शोषण अनि अन्याय विरुद्धको अन्तिम लडाईंको घोषणा कार्यक्रम झैं लागेको बताएका थिए l उनले अगाडि भने -‘पहिलो नम्बरका लगानीकर्ता भनेका संसारमै छरिएर रहेका गीतकार हुन् भने दोस्रो नम्बरमा गायक-गायिकाको लगानी रहेको छ, जो संधै पीडित छन् l सिन्डिकेटको पर्खाल भत्काउनै पर्छ l’ अर्का वक्ता महेश खड्काले पर्चेज र सुबिधामा डाउनलोड गरिएका गीतका डाटालाई अन्य क्षेत्रबाट आउने रोयल्टी वितरणको मोडलमा समावेश गर्न नहुने कुरामा जोड दिँदै आफूले अझै नेपाल यातायातमै यात्रा गरिरहेको दुखेशो पोखे l ‘हाम्रा गीत  राम्रा छन् , जनताले सुन्छन् भनेर हामी सिर्जनातिर मात्र लाग्यौं तर केही फटाहाहरुले एग्रिगेटरहरुसंग मिलेर व्यावसायमा सिन्डिकेट खडा गरे l हामी भोकभोकै हिंडेर आफ्नो करियर बिगारिरहेका छौं l १६ वटा मात्र गीत भएकाहरु १६ करोडका मालिक भएका छन्’ सुरेश अध्कारीले भने l उत्पादक समाजका अध्यक्ष निर्मलराज ढकालले विधि र विधान सम्मत तरिकाले चुनाव सम्पन्न भएको बताउँदै चित्त नबुझेका कुरा संस्थामा आएर बुझ्न-हेर्न उनले असन्तुष्ट पक्षलाई आग्रह समेत गरे l गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले सिन्डिकेटको विरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै सङ्गीतमा धेरै लगानी गीतकारहरुकै भएपनि सबैभन्दा पीडित गीतकार नै भएको गुनाशो गरेका थिए l यता सी डब्लुमा सो कार्यक्रम चलिरहँदा उता उत्पादक समाजको कार्यालय परिसरमा सुबास रेग्मी समर्थकहरुको कोणसभा चलिरहेको थियो l उत्पादक समाजको हालको कार्यसमितिको वैधानिकता सम्बन्धमा अदालतमा मुद्धा चलिरहेको र सुबास रेग्मी प्यानल कुनैपनि शर्तमा हालको कार्यसमितिलाई स्वीकार नगर्ने मनस्थितिमा रहेको हुँदा मुद्धाको फैसला नहुन्जेल यो विवादले निकाश नपाउने कुरा अनुमान गरिएको छ l