गीतकार श्रापितको भावनाको खेती

प्रसिद्ध गीतकार सुमन श्रापितले भरखरै आफ्नो एकल रचानामा ‘भावनाको खेती’ नामक गीतसङ्ग्रह प्रकाशित गरेका छन् l हिउँखोली प्रकाशन गृह, कास्की, पोखराद्वारा प्रकाशित यस पुस्तकमा विविध भावका १ सय ३० गीत सङ्ग्रह गरिएका छन् l पुस्तकमा समावेश भएका मध्ये केही गीत रेकर्ड भएर बजारमा समेत आईसकेका छन् l ‘सुधा, संकल्प, शुभयात्रा, धुमधाम तीज, पूर्णिमाको रात र फूलपाती देवी देउतालाई’ शीर्षकमा ६ वटा एकल रचनाका एल्बमहरु प्रकाशन गरिसकेका गीतकार श्रापितको एकल रचनाको  पुस्तक भने यो पहिलो हो l उनका थुप्रै गीत विभिन्न एल्बममा फुटकर रुपमा समेत आएका छन् l छापा पत्रकारितामा समेत लामो अनुभव भएका श्रापितद्वारा रचित  ‘जसलाई मुटुको अंश, सिरिमा सिरी, मेरो धड्कन तिमी, अच्छा लेकिन क्या बात, पूर्बैबाट पश्चिममा आयौ सोल्टीज्यू, कहिले ओराली झर्छ जिन्दगी, यसपालीको तीज आहा कति रमाईलो, फुरुक्क परें बरिलै, संधै तीजमा ब्रत बस्छु’ लागायतका गीत स्रोताले धेरै मन पराएका छन् l
गीतकार सङ्घ नेपालले गत जेठ २६ गते आयोजना गरेको ‘छैटौं राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रममा गीतकार श्रापितको यो गीत सङ्ग्रहले ‘वर्ष गीत पुस्तक पुरस्कार’ समेत प्राप्त गरेको थियो l