सिंगौरीले बनायो नयाँ इतिहास

संजोगले भेट भको बेला
भन मनमा बस्ने, फूल हो कि कोपिला
यो मायाको आँखै गाजलु
जति तिम्ले सिंगौरी खेले नि
म त तिम्रै हुन्छु मायालु
युमा आर्ट्स एण्ड कल्चर सेन्टरबाट गत बैशाख १० मा रिलिज भएको पूर्वेली लोक जुहारी ‘सिंगौरी’ ले छोटो समयमै लोकप्रियताको नयाँ इतिहास बनाएको छ l यो समाचार लेखिरहँदा युट्युबमा १८ लाखको नजिक नजिक भिडियोको ‘भ्युज’ देखिएको छ l जुन ‘भ्युज’ युमा आर्ट्सको युट्युब च्यानलकै नयाँ रेकर्ड हो l पूर्वेली लोकजुहारी तथा आधुनिक गीत दुबै विधाका लागि प्रसिद्ध गीतकार तथा सङ्गीतकार खगेन्द्र कुमार लिम्बू [यक्शो] को शब्दरचना, शशी [तोरण] गुरुङको सङ्गीत तथा खगेन्द्र यक्शो, विमला राई र अर्जुन राईको स्वर रहेको यस गीतको भिडियो युगल पोमोको निर्देशनमा तयार भएको हो l जसमा अहिलेकी लोकप्रिय तथा महंगी सुन्दरी मोडल एलिशा राई तथा श्याम राई, योगेन्द्र राई, दिनेश गुरुङ र अर्पणको अभिनय रहेको छ l तर रोचक कुरा के छ भने छायांकन भएर पनि लामो समय रिलिज नभएको यो भिडियो शुटिंग हुँदा मोडल एलिशा सङ्घर्षकै चरणमा थिईन् l यस भिडियोको सम्पादन मेघराज मगरातीले गरेका हुन् l
यस गीतको म्युजिक एरेन्ज चन्दु गोर्खालीले गरेका हुन् भने भिडियोको छायाकार अर्जुन तिवारी हुन् l युट्युबमा गीतको लोकप्रियता रात दुईगुणा दिन चार गुणा भएसँगै गायिकाद्वय विमला राई र अर्जुन राईको पनि चर्चा बढेको छ l गीतको सन्दर्भमा जिज्ञाशा राख्दा गीतका रचनाकार तथा गायक खगेन्द्र भन्छन् -‘सिंगौरी हाम्रो पूर्वेली गाउँ-घरको टिपिकल शब्द हो l यसको सिधा अर्थ जुध्नु, जोरी खोज्नु या झगडा गर्नु भएपनि यहाँ प्रेमी-प्रेमिकाबीचको सिंगौरी भएकोले यसको सानोतिनो घुर्की र असहमति भन्ने अर्थ लाग्दछ l गीतमा यस्तै भाव प्रकट गरिएको छ l पूर्वेली जुहारी र पश्चिमका लोकदोहोरीका गाउने शैली फरक फरक भएपनि भाव उस्तै हुन्छन्, सवाल-जवाफ या फकाउने र घुर्की लाउने l यस्ता भावहरु हाम्रा लोकका ऐना हुन् l यस गीतमा पनि केटाले तिमी जेसुकै भन म त तिम्रै हुन्छु भनिरहेको छ भने केटीले त्यसलाई इन्कार गरिरहेकी हुन्छे l’
यस गीतको भिडियो सार्वजनिक गर्नु अघि युमा आर्ट्सकै युट्युब च्यानलमा गीतको शुटिंग रिपोर्ट अपलोड गरिएको थियो l जसलाई दर्शकले निक्कै रुची राखेर हेरेका छन् l यस सन्दर्भमा खगेन्द्र भन्छन् -‘गीतको शुटिंग रिपोर्ट लगभग ३ लाखको हाराहारीमा हेरिएको छ l शुटिंग रिपोर्ट नै यति राम्रो चल्यो भने गीतले केही न केही चमत्कार त पक्कै गर्ला भन्ने लागिरहेको थियो l तर पनि भिडियोको भ्युजलाई लिएर मनमा अनेक प्रकारका कौतुहलता र आफैंसंगका प्रश्नहरु थिए l आखिर जस्तो अपेक्षा गरिएको थियो, त्यस्तै भयो-गीतले युमा आर्ट्सको इतिहासमै नयाँ रेकर्ड राख्यो l अझैपनि रफ्तार उस्तै छ l हाम्रो गीत मन पराएर हेरिदिनुहुने, भिडियोको बारेमा आफ्ना विचार राखिदिनुहुने र शेयर गरेर सहयोग गरिदिनुहुने संसारभरका दर्शकहरुप्रति मेरो नमन छ l १० हजारको हाराहारीमा दर्शकहरुले भिडियोलाई लाइक समेत गर्नुभएको छ l’