युट्युबमा नयाँ शो ‘प्याक सो विथ टु’

चलचित्र निर्देशक कमल एक्चै मगर र कलाकार तथा मोडल मुना कार्की सामाजिक सञ्जाल युट्युबमार्फत ‘प्याक सो विथ टु’ नामक एक नयाँ कार्यक्रम लिएर आएका छन् । पर्फर्मिंग आर्ट क्रिएशनको  प्रस्तुति रहेको यो कार्यक्रम जेठ १८, शुक्रबारदेखि युट्युबमार्फत सार्वजनिक गरिएको हो । कलाकार तथा मोडल मुना कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रमलाई चलचित्र निर्देशक कमल एक्चै मगरले निर्देशन गरेका छन् ।

कार्यक्रमको पहिलो एपिसोडमा युवा चलचित्र निर्देशक दीपक ओली र कलाकार तथा रङ्गकर्मी भोला सापकोटासँगको भलाकुसारी हेर्न सकिने छ । युट्युबमार्फत हरेक शुक्रबार साप्ताहिक रुपमा यो कार्यक्रम सार्वजनिक हुने कार्यक्रमका निर्माता कमल रानाले जानकारी दिए । पर्फर्मिंग आर्ट क्रिएसनको संक्षिप्त नाम ‘प्याक’ र कार्यक्रमको हरेक एपिसोडमा दुई जना अतिथिलाई प्रस्तुत गरिने भएकाले कार्यक्रमको नाम ‘प्याक सो विथ टु’ राखिएको कार्यक्रम प्रस्तोता मुना कार्कीले जानकारी दिएकी छिन् ।  ‘प्याक सो विथ टु’ ले राम्रो र स्तरीय कार्यक्रम हेर्न चाहने युट्युबका नेपाली दर्शकको चाहना पूरा गर्ने निर्देशक मगरले विश्वास व्यक्त गरे । कार्यक्रमको प्रस्तुतिसँगै प्राविधिक पक्ष पनि निक्कै राम्रो रहेको उनको भनाइ छ ।