कलाकार भीम बहादुरको अन्तिम विदाई

वरिष्ठ कलाकार सेनानी भीम बहादुर थापाले ९२ बर्षको उमेरमा गत जेठ ३० गते बुधबार मैतीदेवीस्थित आफ्नै निवासमा प्राण त्यागेका छन् l बुधबारै उनको मृत देहलाई पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ l कलाकार थापाको जन्म बि.स. १९८३ मा खोटांगको लामीडाँडामा भएको थियो l ई. स. १९४२ मा व्रिटिश आर्मीमा भर्ना भई १९४५ सम्म दोस्रो विश्वयुद्ध लडेका थापा व्रिटिश आर्मीबाट निवृत्त भएपछि बि. स. २००२ देखि नेपाली पल्टनमा भर्ती भएका थिए l उमेर हदका कारण ०३९ सालमा नेपाली पल्टनबाट पनि उनले अवकाश लिएका थिए l
व्रिटिश आर्मीमा छँदै कलाकारिता सुरु गरेका थापा ०४१ सालमा ‘के घर के डेरा’ नामक चलचित्रबाट ठूलो पर्दामा प्रवेश गरेका थिए l हालसम्म ठूलो पर्दाका लगभग ६ दर्जन, डेढसयको हाराहारीमा टेलि चलचित्र र ५० भन्दा बढी विज्ञापनहरुमा अभिनय गरेका वरिष्ठ कलाकार थापालाई ०७१ सालमा नेपाल चलचित्र कलाकार संघले ‘शान्ति मास्के पुरस्कार’ बाट समेत सम्मान गरेको थियो l