कभर सङ्का प्रतियोगीहरु पुरस्कृत

पेज थ्री पाक्षिकको आयोजनामा सम्पन्न ‘चेज बुँदिया भिन्तुना म्ये कासा’ कभर सङ् प्रतियोगितामा उत्तम महर्जनले १ सय २१ प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रथम पुरस्कार जितेका छन् l गत चैत ९ गते जमलस्थित राष्ट्रिय नाचघरको हलमा सम्पन्न कार्यक्रममा प्रथम पुरस्कार विजेता महर्जनले २४ इन्चको चेज लिड टिभी प्राप्त गरे भने पुरस्कार स्वरूप उनलाई भिडियो सहितको एउटा गीत रेकर्दिंगको सुविधा समेत प्रदान गरिने घोषणा गरिएको छ l प्रतियोगितामा परमेश मल्ल, सुमन मानन्धर, रविन्शन कंशाकार र मुकेश शाक्य पनि ‘टप फाइभ’ विजेता बन्न सफल भएका थिए l उनीहरुले पनि गीत रेकर्दिंगको सुविधा प्राप्त गर्ने छन् l यसैगरी ‘टप फाइभ’ भित्रकी गायिका सुमन मानन्धरले निर्धारित समयभित्र सबैभन्दा बढी ७७ हजार ८ सय १७ ‘भ्युज’ वापत २४ इन्चको चेज लिड टिभी प्राप्त गरेकी थिईन् l
सुरजवीर बज्राचार्यको शब्दरचना, जुगल डंगोलको सङ्गीत तथा सङ्गीत संयोजनमा तयार भएको नेपाल भाषाको शुभकामना गीत ‘बुँदिया भिन्तुना’ को कभर गायन प्रतियोगिताका लागि सामाजिक सञ्जाल फेसबुक मार्फत गरिएको आह्वान अनुसार गत पुष १ गतेबाट गीत दर्ता आरम्भ भएको थियो l पूर्व सूचना अनुसार माघ ८ मा दर्ताको अवधि समाप्त भएको थियो भने माघ २० मा कार्यक्रमको आयोजना गरी प्रतियोगीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो l समारोहमा सुरजवीर बज्राचार्यको पहिलो एकल गीति सङ्ग्रह ‘दोहलपा’ को समेत विमोचन गरिएको थियो l सोही अवसरमा प्रतिस्पर्धामा सहभागी नभएका सबैभन्दा कान्छो गायक ३ बर्षीय अपूर्व राजोपाध्याय र सुप्रिया राजभण्डारीलाई पनि उपहार प्रदान गरिएको थियो l कार्यक्रममा जुजुकाजी रञ्‍जित, निशा देशार, सतिश महर्जन, सरिता साही, दीपा महर्जन, रत्नशोभा महर्जन, सानुबाबु महर्जन, सुरज व्यन्जनकार, भूपेन्द्र बज्राचार्य, रोजी डंगोल श्रेष्ठ लगायत एकदर्जन बढी कलाकारले गायन प्रस्तुति दिएका थिए भने आराध्यलक्ष्मी खड्गी, राजन साही, रजनी खड्गी लगायतका कलाकारले नृत्य गरेर कार्यक्रमलाई थप मनोरन्जक बनाएका थिए l