१५ गते आयोजना हुँदै नेपाल म्युजिक अवार्ड

चाहना मिडिया प्रा. लि. को आयोजनामा यही बैशाख १५ गते पाँचतारे होटल अन्नपूर्णमा सम्पन्न हुन गईरहेको म्युजिक अवार्ड ‘नेपाल म्युजिक अवार्ड’ का उत्कृष्ट ५ मा परेका नोमिनिजहरुलाई प्रमाणपत्र वितरण गरिएको छ l पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डको सभा हलमा आयोजित एक समारोहबीच उत्कृष्ट ५ मा परेका ३८ विधाका १सय ९०जनालाई हालै प्रमाणपत्र वितरण गरिएको हो l समारोहमा चाहना मिडिया प्रा. लि. का अध्यक्ष तथा अवार्ड आयोजक समितिका संयोजक सहदेव कोईरालाले अवार्ड निष्पक्ष र धाँधलीरहित हुने कुरा स्पष्ट पारेका थिए l
नेपालकै सबैभन्दा ठूलो दावी गरिएको यस अवार्डमा प्रतिस्पर्धाका लागि नेपालमै पहिलोपटक कागजी प्रक्रियाबाट बाहेक अनलाइनबाट आवेदन दिने व्यवस्था समेत मिलाइएको थियो l प्राप्त जानकारी अनुसार प्राप्त कूल १४ सय आवेदन मध्ये लगभग ११ सय अनलाइन मार्फत भरिएका थिए l अवार्ड समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नगद रु. ५१ हजार १ सय ११ सहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ सहित सम्मान गरिने छ भने लोकगायक वुद्धिकृष्ण लामिछाने पनि नगद रु.११ हजार १ सय ५१ सहित ‘विशिष्ठ लोक साहित्यकर्मी सम्मान’ बाट सम्मानित हुने छन् l यसैगरी अर्की लोक गायिका हरिदेवी कोईराला पनि ‘विशेष सम्मान’ द्वारा सम्मानित हुने छिन् l अवार्ड समारोहका सन्दर्भका समाचार-सूचना सम्प्रेषणमा उल्लेख्य भूमिका निर्वाह गर्ने एकजना पत्रकारलाई पनि ‘विशेष सम्मान’ प्रदान गर्ने कार्यक्रम भएपनि सो बारे भने अहिले स्पष्ट पारिएको छैन l
प्राप्त जानकारी अनुसार जुरीको ५० अङ्क, एसएमएसको २० अङ्क, आयोजकको १० अङ्क र अनलाइन भोटिंगको २० अङ्कको आधारमा सबैभन्दा बढी कूल अङ्क प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेताको अवार्ड प्रदान गरिने छ l अनलाइन भोटिंग पनि नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको कुरा आयोजकले बताएका छन् l