मुक्तक सङ्ग्रहको विमोचन

राग रागिनी इन्टरटेनमेन्टको आयोजनामा सुशील चालिसेको मुक्तक सङ्ग्रह ‘गुराँसहरु पलाँसहरु’ एक समारोहबीच विमोचन भएको छ l वरिष्ठ साहित्यकार एवं चलचित्रकर्मी चेतन कार्कीले पुस्तक विमोचन गर्दै मुक्तककार चालिसेको मुक्तक विधामा भविष्य उज्ज्वल रहेको बताए l पुस्तकको समीक्षा गर्दै प्रा. डा. सनत कुमार वस्तीले मुक्तक विधा हेर्दा सरल भएपनि लेखनको हिसाबले अति कठिन भएको बताउँदै मस्तिष्क भन्दा हृदयबाट लेखिएका रचना उत्कृष्ट हुने विचार ब्यक्त गरेका थिए l उनले पनि मुक्ताककार चालिसेमा प्रशस्त सम्भावना भएको धारणा राख्दै विषय चयनमा विविधता ल्याउनुपर्ने सुझाव दिएका थिए l यसैगरी समारोहमा गीतकार सुवासचन्द्र ढुङ्गेलले मुक्तककारको सकारात्मक सोच लेखाईमा प्रतिविम्वित भएको बताएका थिए l कार्यक्रम आयोजक संस्थाका कार्यवाहक अध्यक्ष अल्बर्ट बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको थियो l