सङ्गीतमा पहिचान स्थापित गर्दै गायिका देशु

कर्मथलो वेलायत भएपनि सङ्गीतको मोहले तानेर गायिका देशु गोलेलाई पुनः नेपाल ल्याएको छ l गीत रेकर्दिंगको सिलसिलामा उनी केही हप्ता अघिदेखि काठमाण्डौमा दौडधुप गरिरहेकी छिन् l महिनौं अघि काम सुरु गरेपनि अपूरा रहेका केही गीत र केही नयाँ गीतका रेकडिंग सकेर छिट्टै  कर्मथलो वेलायत फर्कनु छ उनलाई l हुन त यो उनको बाध्यता होईन, चाहना मात्र हो l सङ्गीतप्रतिको लगाव, झुकाव र अभिन्न सम्बन्धले वेलायतको व्यस्तताबाट पनि समय निकालेर नेपाल आएकी देशुले गीत तयार पार्ने क्रममा यहाँ धेरै तीता-मीठा अनुभूतिहरु गरेकी छिन् l प्रवासमा बस्ने प्रतिभाहरुले पैसा खर्च गरेर मात्र सहज सेवा नपाउने यथार्थको पनि भुक्तभोगी बनेकी छिन् उनी l
भोजपुर, खाताम्छा निवासी माता लक्ष्मी कुमारी तामांग र पिता राम बहादुर तामांगको कोखबाट जन्मिएकी गायिका देशु स्कुल पढ्दैदेखि स्थानीय क्षेत्रमा आयोजना हुने कार्यक्रमहरुमा गीत गाउने गर्दथिन् l उनी सानै उमेरमा व्रिटिश गोर्खा लाहुरेसँग बैबाहिक बन्धनमा बाँधिएकी थिईन् l पतिको जागिरको कारण सँगै बस्न सम्भव पनि थिएन l लामो समय विरहमा हुन्थिन् उनी l एक्लोपनको वह पोख्दापोख्दै त्यहीबेला उनले धेरै गीत रचना गरेकी थिईन् l बिस्तारै उनका हातहरू गीत लेखनमा अभ्यस्त बन्दै गएका थिए l जुन क्रम आजसम्म पनि निरन्तर चलिरहेको छ l अहिले उनी गायन सँगसँगै गीत रचनामा पनि क्रियाशील रहँदै आएकी छिन् l जीवनले रङ्ग फेर्यो, ढङ्ग फेर्यो, जिन्दगीका धेरै पानाहरु पल्टिए, विरहका दिनहरु सकिए l तर भोजपुरको विकट पहाडी गाउँबाट हंगकंग हुँदै सात समुन्द्रपारिको देश वेलायत पुगेकी देशुले उकाली-ओराली, ढुंगे धाराको पानी, वनपाखा र गाउँको माया मनभरि बोकेकी थिईन् l                                                                                                                                                                         फरक प्रकृतिको कोमल गला भएकी गायिका देशुको गायकी शैली पनि भिन्न प्रकृतिको रहेको छ l हालसम्म १३ वटा गीत रेकर्ड गरिसकेकी देशुका ‘सायद मलाई बनायोहोला दैबले, यो दिलको राजा, तिमीसँग बोल्दैमा, मनैमा राखें तिमीलाई, कस्तो भाग्य कोरयौ दैव र कहिले पीडासँगै’ बोलका गीत श्रोताले धेरै मन पराएका छन् l छिट्टै नयाँ एल्बमका गीत तयार पारेर कर्मथलो वेलायत फर्कने तयारी गरिरहेकी देशुलाई अब आउने गीतले गायिकाको रुपमा थप पहिचान दिनेछन् भन्ने विस्वास गर्न सकिन्छ l