मार्च २ देखि अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराकासाथ एभरेष्ट नेपाल कल्चरल ग्रुपले आगामी मार्च २ देखि नवौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना गर्नेभएको छ l गत माघ २८ गते पत्रकार सम्मेलनको आयोजना गरी कल्चरल ग्रुपले सो कुरा जानकारी गराएको हो l
कल्चरल ग्रुपले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसपटकको लोक साँस्कृतिक मेलामा इस्टोनिया, ग्रिस, इन्डोनेसिया, बंगलादेश, भारत, मलेशिया, कोस्टारिका, इटाली, इजरायल, टर्की र नेपाल सहित ११ देशका ३ सयभन्दा बढी कलाकारहरुले काठमाडौँ, ललितपुर, गैंडाकोट र पोखराका विभिन्न स्थानमा आ-आफ्ना देशका लोक साँस्कृतिक नृत्यहरु प्रस्तुत गर्नेछन् l यसका अलावा विदेशी कलाकारहरुले काठमान्डौ आसपासका विद्यालयमा समेत प्रस्तुति आदानप्रदान गर्ने कार्यक्रम रहेको छ l मार्च ९ तारिकका दिन जमलस्थित राष्ट्रिय नाचघरको हलमा मेलाको समापन कार्यक्रम हुने छ भने त्यसको भोलिपल्ट अर्थात १० तारिकका दिन विदेशी कलाकारहरु स्वदेश फर्कने कार्यक्रम रहेको छ l आठौँ साँस्कृतिक मेला सम्पन्न भईसक्दा करिव ६५ देशका ३५ सयभन्दा बढी कलाकारहरुले यस मेलामा सहभागिता जनाईसकेको बताईएको छ l पत्रकार सम्मेलनमा मेलामा प्रस्तुत हुने लोक नृत्यका झलक समेत प्रदर्शन गरिएको थियो l
नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने प्रमुख लक्ष राखेरा आजभन्दा २० वर्ष अगाडि स्थापित यस कल्चरल ग्रुपले विश्वका ६५ भन्दा बढी मुलुकमा लोक साँस्कृतिक कार्यक्रम मार्फत नेपाली लोक संस्कृतिको प्रचारप्रसार गरिसकेको छ l विश्वसामु नेपाली लोक कला एवं संस्कृतिको प्रचारप्रसारमा अद्वितीय भूमिका निभाईरहेको यस कल्चरल ग्रुपले नीतिगत रुपमा सरकारी सहयोग प्राप्त नगरेपनि केही सरकारी निकाय र संस्थाहरुले ‘सपोर्ट’ गरेको कुरा कल्चरल ग्रुपका संस्थापक एवं अध्यक्ष रामचन्द्र [आर.सी.] कोईरालाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् l