पिरतीको बर्कोले रातारात चर्चामा

गीतकार अर्जुन भट्टराई चलचित्र ‘शत्रुगते’ को गीत ‘पिरतीको बर्को’ बाट रातारात चर्चामा आएका छन् l मह संचारको प्रस्तुतिमा हाल निर्माणाधीन अवस्थामै रहेको चलचित्र ‘शत्रुगते’ का २ गीत मध्ये एउटा लोकराज अधिकारीले लेखेका हुन् भने अर्को गीत अर्जुनको रचना हो l यु-ट्युबमा अपलोड भएको १ हप्ता भन्दा पनि कम समयमा गीतकार अर्जुनको गीत ‘ओढाउंला पिरतीको बर्को तिमीलाई, मेरै नामको सिन्दुरको धर्को तिमीलाई’ १० लाख पटक भन्दा बढी हेरिएपछि सङ्गीत वृत्तमा उनको चर्चा चुलिएको हो l गीतमा कालीप्रसाद बासकोटाको सङ्गीत/स्वर रहेको छ भने चलचित्रको निर्देशन प्रदिप भट्टराईले गरेका छन् l चलचित्र आगामी चैत ९ गते रिलिज गरिने थाहा भएको छ l
हाल ‘प्रस्तोता समाज नेपाल’ मा लेखा अधिकृतको रुपमा कार्यरत गीतकार अर्जुनको पहिलोपटक ०५६ सालमा ‘तिमीसंग हारें मैले’ बोलको आधुनिक गीत रेकर्ड भएको थियो l जसको सङ्गीत गुरुदेव कामतले गरेका थिए भने स्वर सत्यकला राईले दिएकी थिईन् l अर्जुन स्वयम् गायक पनि हुन् l आफ्नै स्वर र अरुका स्वर गरी हालसम्म उनका १ दर्जन बढी रचना रेकर्ड भईसकेका छन् l ‘पिरतीको बर्को’ चलचित्रमा उनको पहिलो गीत हो l ५ वर्ष अघि ‘कति राम्री भनौं भने फुर्क्याऊंदैछौ भन्छ्येउहोला’ ले सामान्य चर्चामा ल्याए पनि ‘शत्रुगते’ को यो गीतले उनलाई अलग्गै पहिचान र उचाई दिएको छ l चलचित्रको रिलिज अगावै गीतको ‘भ्युज’ करोड नाघ्ने सहजै अनुमान गर्न सकिन्छ l