पाँचौं छायाछवि काव्य शृंखला सम्पन्न

छायाछवि क्रिएशनको आयोजनामा गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन ‘छायाछवि काव्य शृंखला’ नामक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ l हरेक महिना आयोजना हुँदै आईरहेको यस प्रकारको कार्यक्रमको यो पाँचौं शृंखला हो l प्रत्येक महिनाको कार्यक्रममा एक एकजना महिला र पुरुष कवि एवं गजलकारले आ-आफ्ना कविता र गजल वाचन गर्दै आईरहेका छन् l यसपटक गजलकार विपिन सलामी र कवयित्री रन्जना निरौलाले विविध भावका एक एक दर्जन गजल र कविता वाचन गरेका थिए l
बागबजारस्थित सिटी म्याक्स हलमा आयोजित सो काव्य शृंखला कार्यक्रममा आयोजक संस्था छायाछवि क्रिएशनका अध्यक्ष शान्तिप्रियले अतिथिहरुलाई स्वागत गर्दै विविध विधा र क्षेत्रका सर्जकहरुलाई एउतै मन्चमा समेटी साहित्यिक गतिविधिलाई क्रियाशील बनाउने उद्देश्यले यस शृंखलाको आरम्भ गरिएको कुरा स्पष्ट पारेका थिए l कार्यक्रममा स्रोता एवं दर्शकको खचाखच उपस्थिति रहेको थियो भने गजल र कविता वाचनसंगै उनीहरु कहिले ‘वाह वाह’ गर्दै त कहिले ताली बजाएर भरपूर आनन्द समेत लिईरहेका थिए l यस शृंखलाका कार्यक्रमहरु कवयित्री रश्मी रोदनले संयोजन गर्दै आईरहेकी छिन् l
समारोहमा विशिष्ठ अतिथिका रुपमा लोकप्रिय चलचित्र निर्देशक एवं कलाकार दीपाश्री निरौला र कवि, गजलकार एवं एनिमेटर करुण थापा उपस्थित रहेका थिए l दुबै अतिथिहरुले आफ्नो मन्तव्य राख्ने क्रममा मुक्तक सुनाएका थिए भने कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी प्रकट गरेका थिए l यस शृंखला अन्तर्गतको छैठौं कार्यक्रम आगामी चैत १७ गते आयोजना हुने कुरा थाहा भएको छ l