चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कार

ड्रिमवर्ल्ड अफ फिल्म मेकर्स प्रा. लि. ले पूर्व घोषित योजना अनुसार गत मङ्सिर २७ गते चलचित्र क्षेत्रसंग सम्बन्धित बिभिन्न व्यक्तिहरुलाई ‘श्याम-सुनिता मुखिया’ पुरस्कार तथा सम्मान अर्पण गरेको छ l फिल्म मेकर्स प्रा. लि. ले राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र क्षेत्रसंग सम्बन्धित तीनजनालाई नगद सहित पुरस्कार र एकजनालाई सम्मान प्रदान गरेको थियो l
कार्यक्रममा वरिष्ठ चलचित्र लेखक/निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद रु.१५ हजार ५ सय ५५ सहित ‘विशिष्ठ चलचित्रकर्मी पुरस्कार’ प्रदान गरिएको थियो भने लोकप्रिय चलचित्र गीतकार तथा कला पत्रकार शान्तिप्रिय पनि नगद रु.१५ हजार ५ सय ५५ सहित नै  ‘वरिष्ठ चलचित्रकर्मी पुरस्कार’बाट पुरस्कृत भएका थिए l यसैगरी समारोहमा पत्रकार फूलमान वललाई नगद रु. ११ हजार १ सय ११ सहित ‘युवा चलचित्रकर्मी पुरस्कार’ बाट पुरस्कृत गरियो l सुनिता मुखियाको सभापतित्वमा सम्पन्न सो समारोहमा चर्चित महिला चलचित्र निर्देशक एवं कलाकार दीपाश्री निरौला र ओस्कार कलेजका प्रिन्सिपल विनोद पौडेललाई भने सम्मान गरिएको थियो l